काठमाडौं। दिल्ली परिवहन निगमको फ्लिटमा ५०० नयाँ इलेक्ट्रिक बस समावेश गरिएको छ। योसँगै दिल्ली भारतकै सबैभन्दा ठूलो इलेक्ट्रिक बस हब बनेको छ। यी बसलाई रामलीला मैदानबाट भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन र दिल्लीका मुख्यमन्त्री रेखा गुप्ताले झन्डा हल्लाएर प्रस्थान गराएका हुन्।
नयाँ बस थपिएसँगै राजधानीमा सञ्चालनमा रहेका विद्युतीय बसको संख्या ४ हजार नाघेको छ, जसले दिल्लीलाई देशकै सबैभन्दा ठूलो ई–बस फ्लिट भएको सहर बनाएको छ। दिल्ली सरकारले २०२६ को अन्त्यसम्म ७ हजार ५०० र २०२८ सम्म १४ हजार ई–बस पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा राष्ट्रिय अध्यक्ष नितिन नवीनले मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्लीले निर्णायक र जवाफदेही शासन पाएको बताए। उनले ५०० विद्युतीय बसको एकैपटक सञ्चालन परिणाममुखी कार्यशैलीको उदाहरण भएको उल्लेख गरे।
मुख्यमन्त्री गुप्ताले एकैपटक ५०० विद्युतीय बस सञ्चालनमा ल्याउनु दिल्लीको यातायात इतिहासमै पहिलो घटना भएको बताइन्। उनले राजधानी देशकै सबैभन्दा ठूलो विद्युतीय बस हब बनेको र सार्वजनिक यातायात सुधार आफ्नो सरकारको मुख्य प्राथमिकता भएको स्पष्ट पारिन्।
‘आधुनिक बस र यात्रुका लागि राम्रो सुविधा नै हाम्रो कार्यसम्पादनको रिपोर्ट कार्ड हो,’ गुप्ताले भनिन्। साथै स्वच्छ, भरपर्दो र भविष्यउन्मुख यातायात प्रणाली निर्माणमा सरकार प्रतिबद्ध रहेको बताइन्।
उनले दिल्ली–पानीपत मार्गमा तीन नयाँ विद्युतीय बस सेवा सुरु गरिएको घोषणा गर्दै यसबाट दैनिक हजारौँ यात्रु लाभान्वित हुने बताइन्। करिब ८६ किलोमिटर लामो यो मार्ग सिंहु बोर्डर (दिल्ली–हरियाणा), राई, बहलगढ, मुरथल, गणौर, समालखा लगायतका प्रमुख स्थान हुँदै सञ्चालन हुनेछ।
गुप्ताले स्वच्छ गतिशीलता प्रवद्र्धन गर्न चाँडै व्यापक विद्युतीय सवारी नीति ल्याइने पनि जानकारी दिइन्। अघिल्लो सरकारले भुक्तानी नगरेको करिब ४० करोड रुपैयाँ बराबरको ईभी अनुदान हालै भुक्तानी गरिएको उनले बताइन्।
डीटीसीको वित्तीय अवस्थाबारे उल्लेख गर्दै मुख्यमन्त्रीले विगतमा संस्थान ठूलो घाटा र सञ्चालन चुनौतीमा रहेको र हालको सरकारले यसलाई आधुनिक, प्रभावकारी र आर्थिक रूपमा दिगो सार्वजनिक यातायात प्रणालीमा रुपान्तरण गर्ने ठोस कदम चालिरहेको जानकारी दिइन्।
यातायात मन्त्री पंकजकुमार सिंहले विद्युतीय बसको थपले दिल्लीको सार्वजनिक यातायात सञ्जाललाई बलियो बनाउनुका साथै प्रदूषण घटाउन महत्त्वपूर्ण योगदान पुर्याउने बताएका छन्। उनले दिल्ली–पानीपत ई–बस सेवा सुरक्षित, सस्तो र वातावरणमैत्री अन्तरराज्य यात्रा विकल्प हुने उल्लेख गरे। दिल्ली महाराष्ट्रलाई उछिन्दै भारतमै सबैभन्दा ठूलो ई–बस फ्लिट भएको राज्य बनेको छ।