काठमाडौं। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन्।
बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटमा नेपालमा आसन्न संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेको ढाकास्थित नेपाली दूतावासले जनाएको छ।
त्यस अवसरमा मन्त्री शर्माले बंगलादेशको प्रधानमन्त्री बनेकामा रहमानलाई हार्दिक बधाई ज्ञापन गर्दै समकक्षी सुशीला कार्कीले पठाएको बधाइ सन्देश हस्तान्तरण गरेका थिए।
सन्देशमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री रहमानलाई बधाई दिँदै दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझा प्रतिबद्धता र साझेदारीको भावनाका साथ समकक्षी रहमान काम गर्ने इच्छा व्यक्त गरेकी छन्।
दूतावासका अनुसार परराष्ट्रमन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सहज संक्रमण सुनिश्चित गरेकामा बंगलादेश सरकारको सराहना गर्दै नेता रहमान नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीले बहुमत हासिल प्राप्त गरेकामा बधाइ ज्ञापन गरे।
प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बंगलादेश सरकार र जनताप्रति दर्शाइएको सद्भाव र एकता प्रतिविम्बित गरेको बताए।
नेपाल र बंगलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने साझा प्रतिबद्धता दोहोर्याउँदै प्रधानमन्त्री रहमान र परराष्ट्रमन्त्री शर्माले व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार, शिक्षा, पर्यटनलगायत क्षेत्रमा सहकार्य बढाउनेबारे छलफल गरेका थिए।
त्यसअघि परराष्ट्रमन्त्री शर्मा बंगलादेशको नवनिर्वाचित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यको शपथ समारोहमा पनि सहभागी भएका थिए।
साथै, उनले बंगलादेश जमत‑ए‑इस्लामीका नेता तथा शफिकुर रहमानसँग पनि भेटवार्ता गरेका छन्। उक्त भेटमा द्विपक्षीय सहकार्यका मुख्य क्षेत्रमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रम छ।