काठमाडौं। फागुन २१ को निर्वाचन आउन दुई साता मात्रै बाँकी रहे पनि देशमा रोजगार नहुँदा मुग्लान पस्ने युवकयुवतीको संख्या बढिरहेको छ। राजनीतिक दलले घोषणापत्रमा देशमै रोजगार ग्यारेन्टी गरिने बताए पनि कार्यान्वयन हुन सकेको छैन।
माघमा मात्रै रोजगारीका लागि विभिन्न मुलुक जान ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएको तथ्यांक वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको छ।
उनीहरूले विभिन्न १०७ देश जान स्वीकृति लिएका हुन्। श्रम स्वीकृति लिनेमा ६२ हजार १६२ पुरुष र आठ हजार ३४१ जना महिला छन्।
विभागका अनुसार माघमा युनाइटेड अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, मलेसिया, कुवेत, रोमानिया, जापान, साइप्रस, ओमान, बहराइनलगायत मुलुक जानेको संख्या बढी छ।
युएईमा १५१३७, साउदी ११५९२, कतार ११५८०, मलेसिया १०३४१, कुवेत ५४४३, रोमानिया ३९४०, जापान १७६०, साइप्रसका १२५५, ओमान १२०५ र बहराइनका लागि १ १२७ जनाले श्रम स्वीकृति लिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ।