काठमाडौं। आज फागुन ७ अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस। देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ। प्रजातन्त्रका लागि दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसीहँसी जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरंकुश राणा शासन अन्त्य भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ।
प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामार्फत आफ्ना अधिकारको अभ्यास गर्दै आएका छन्। संवैधानिक रूपमा प्रजातान्त्रिक मूल्य र व्यवहारलाई संस्थागत गर्ने बलियो आधार २००७ सालको जनक्रान्तिले तयार पारेको मानिन्छ।
आज सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमका साथ आयोजना हुँदै छ। प्रधानमन्त्री सुशीला कार्की अध्यक्षताको मूल समारोह समितिमा सरकारका मन्त्रीहरू, काठमाडौँ उपत्यकाका नगरप्रमुख, मुख्य सचिव, प्रधान सेनापति, सुरक्षा निकायका प्रमुखहरू लगायत उच्च पदाधिकारी सदस्य छन् । गृह मन्त्रालयका सचिव सदस्य–सचिवको भूमिकामा छन् ।
यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ भने राष्ट्रपति, प्रधानमन्त्रीलगायत शीर्ष नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ अवसरमा आज शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबैप्रति सम्मान प्रकट गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौँ आन्दोलनलाई पथ प्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दछु।’
राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा योगदान गर्न सबैलाई अपिल पनि गरेका छन्।
प्रजातन्त्र दिवस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राजनीतिक दलका शीर्षस्थ नेतृत्व, पूर्वराजा ज्ञानेन्द्र शाहलगायतले प्रजातन्त्र दिवसको उपलक्ष्यमा जनतालाई बधाइ दिएका छन्।