काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली युवाका लागि आगामी पाँच वर्षमा १५ लाख रोजगारी सृजना गर्ने गरी योजना बनाएको बताएका छन्।
कांग्रेसको चुनावी प्रतिज्ञासम्बन्धी सवाल जवाफ कार्यक्रममा बोल्दै उनले ‘मिसन रोजगारी’लाई निरन्तरता दिँदै संविधानमा लेखिएको मौलिक हकअन्तर्गतको रोजगारी सुनिश्चित गर्ने संकल्पपत्र तयार गरिएको बताए।
उनका अनुसार पाँच हजारजस्ता सीमित संख्यामा मात्र नभई कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि लगायत क्षेत्रगत योजनामार्फत व्यापक रुपमा रोजगारी सृजना गरिने छ।
‘५ हजार युवाहरूका लागि कार्यक्रम बनाउने छौँ, चाहे त्यो संसद्मा होस् या सरकारमा होस्। यस बारेमा कार्यक्रम नै बनाएका छौँ,’ उनले भने।
थापाले युवाहरूलाई डिजिटल स्वतन्त्रता र सृजनाको सम्मान गर्ने योजना कांग्रेससँग रहेको जिकीर गरे। अहिलेका युवासँग कला, साहित्य र विभिन्न सृजनात्मक क्षमता भए पनि त्यसलाई बजारसँग जोड्न नसकिएको उल्लेख गर्दै त्यसका लागि स्पष्ट कार्यक्रम रहेको बताए।
सरकारले ‘ब्रेन ड्रेन सँगै ब्रेन गेन’को अवधारणामा पनि काम गर्ने उनले बताए। विदेश पलायन भएका दक्ष जनशक्तिलाई नेपालमै संस्थागत रुपमा काम गर्ने वातावरण सिर्जना गर्ने योजना तयार गरिएको उनको भनाइ छ।