काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी आमनिर्वाचनलाई लक्षित गर्दै आफ्नो बाचापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा आयोजित आमसभामा पार्टीका प्रमुख नेताहरूले बाचापत्र अनावरण गरेका थिए।
पार्टीका उपसभापति तथा अर्थविद स्वर्णिम वाग्लेले बाचापत्रका केही झलकहरू प्रस्तुत गर्दै मुलुकको नीतिगत प्रस्थानका एक सय आधार समावेश गरिएको जानकारी दिएका थिए।
‘राजकाजको जहाज हामी कुन दिशातिर लैजादै छौँ भन्ने बाचापत्रमा खुलाइएको छ,’ उनले भने, ‘हामीले अर्थतन्त्रका रोगहरू निदान गरेर सय आधारहरू पेश गरेका छौँ। दलमुक्त राज्य संयन्त्र, सरकारी सेवामा अनलाइन प्रणाली र नागरिकको राज्यप्रति भरोसा बढाउने कार्यक्रम समावेश छन्।’
वाग्लेले दशकौँदेखिको थाती राखिएका अर्थतन्त्र सुधार अगाडि बढाइने, विकासका लागि बाधक रहेका दर्जनौँ ऐन र नियमावली एकै पटक खारेज गरिने बताएका छन्।
उनले थपे, ‘निजी क्षेत्र हाम्रो साझेदार र सारथी हुनेछ। सबै करहरूको बोझ घटाउने छौँ। झण्झटीला प्रक्रियाको जालो च्यात्ने छौँ। दैलो दैलोमा सरकार पुग्ने छ।’
रास्वपाले अबको १० वर्षमा सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य राखेको छ। स्थिर मूल्यमा वार्षिक कम्तिमा ७ प्रतिशत आर्थिक वृद्धिदर कायम गर्ने ५-७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्याउने र नेपालको अर्थतन्त्रलाई एक सय अर्ब डलरमा पुर्याउने संकल्प वाग्लेले प्रस्तुत गरेका छन्।