कुनै समय यस्तो थियो ट्याक्सी चढ्नेबित्तिकै यात्रुको आँखा सीधै मिटरमा जान्थ्यो। मिटर बिग्रेको छ कि, चालकले मिटर डाउन गरेका छन्, सुई कति चाँडो घुमिरहेको छ, भाडा बढी उठ्ने हो कि? यी सबै यात्रुका चासोका विषय हुन्थे। मिटर नै यात्रु र चालकबीचको विश्वासको आधार थियो। ट्याक्सी चालकले मिटरमा जान मान्दैनन् कि भन्ने चिन्ता यात्रुमा देखिन्थ्यो।
केही वर्षअघिसम्म मिटरमा ट्याक्सी चढ्नु भनेको ठुलै युद्ध जित्नु जस्तै हुन्थ्यो। मिटरमा जाने हो भनेर सोध्दा चालकले हुँदैन खाली फर्कनुपर्छ, अलि बढी दिनू भन्थे। बार्गेनिङ र मिटरमा जान नमान्ने प्रवृत्तिले गर्दा यात्रु आजित थिए। प्रविधिको विकास हुँदै गएर राइड सेयरिङ भित्रिएपछि ट्याक्सीको मिटर ओझेल परेको हो।
विगतका दिनमा ट्याक्सी चालकसँग बार्गेनिङ गर्नु यात्रुको बाध्यता थियो। तर, प्रविधिको विकाससँगै त्यो दृश्य विस्तारै हराउँदै गएको छ। राइड सेयरिङ एपको आगमनसँगै ट्याक्सी मिटर ओझेल परेको छ। प्रविधिले गर्दा ट्याक्सिमा मिटर हेर्ने चलनको अन्त्य भएको छ।
अहिले ढोकै अगाडि सवारी आइपुग्छ। प्रविधिले ट्याक्सीमा मिटर हेर्ने चलन अन्त्य भएको छ। अहिले निजी गाडीले अनलाइन एपमार्फत बजार कब्जा गरिरहेको अवस्थामा ट्याक्सी व्यवसायी पनि प्रविधि अपनाउन बाध्य छन्।
सार्वजनिक सावारी व्यवस्थित नहुँदा छिटो गन्तव्यमा पुग्न सर्वसाधारण ट्याक्सि प्रयोग गर्छन्। सामान्यतया ट्याक्सिमा यात्रा गर्नेले यात्रा गरिसकेपछि मिटरमा उठेजति भाडा तिर्नुपर्ने हुन्छ। तर, मिटर चलाएर हिँड्ने ट्याक्सिको संख्या असाध्यै न्युन हुन्थे। प्राय ट्याक्सिले मिटरमा जान नमान्ने र ट्याक्सि बाहेक अन्य विकल्प नभएको वेला बाध्यताले ट्याक्सी चालकले तोकिएको भाडादरमा जानुपर्ने हुन्थ्यो।
पछिल्लो समय भित्रिएका विभिन्न राइड–सेयरिङ एप पठाओ, इनड्राइभर, यांगो, ट्याक्सीमान्डुलगायतका कारण अहिले यात्रुले ट्याक्सी चढ्नुअघि नै आफ्नो मोबाइलको स्क्रिनमा कति पैसा लाग्छ भन्ने प्रस्ट देख्न सक्छन्। यसले गर्दा ट्याक्सीको मिटर कति घुम्यो भनेर हेरिरहनुपर्ने बाध्यता अन्त्य भएको हो।
नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठ अहिले मिटर र अनलाइन दुवैमा चल्नुपर्ने बताउँछन्। ‘हामीले दुवैलाई स्वीकार गर्छौ। छोरा धनी भयो भनेर बाउलाई हेला गर्ने कुरा हुँदैन,’ उनले भने, ‘मिटर भनेको स्थिर र पारदर्शी हुन्छ। अनलाइनमा समयअनुसार रेट फेरिन्छ।’ अनलाइनमा बिहान, दिउँसो, कार्यालय समय, चापअनुसार पैसा डबल–ट्रिपल हुने उनको भनाइ छ।
‘विगतमा कम शिक्षित चालकले दुई–चार रुपैयाँ बढी लिएको गुनासो हुन्थ्यो। मिटर भनेको जति बेला पनि फिक्स्ड हुन्छ,’ श्रेष्ठले भने, ‘तर, अनलाइनमा समयअनुसार रेट फरक–फरक हुन्छ। आखिर जसरी पनि ठगिने उपभोक्ता नै हो।’ अनलाइनले अलि सहज त पक्कै भएको छ, पहिले अशिक्षित वर्गले अलिअलि ठग्थे भने अहिले शिक्षित वर्गले ठगिरहेको श्रेष्ठको भनाइ छ।
उनका अनुसार यदि व्यवसायीले अनलाइन सेवा नदिए निजी गाडीहरूले त्यो बजार लिन्छन्। त्यसैले अनलाइन र मिटर दुवै सेवा सञ्चालन गरिरहेका छन्। अहिले मिटरमा जाने ग्राहकलाई मिटरमै र अनलाइन बुकिङ गर्ने ग्राहकलाई अनलाइनमार्फत सेवा दिइरहेको श्रेष्ठ बताउँछन्।
हाल सडकमा रातो नम्बर प्लेटका निजी ट्याक्सी र मोटरसाइकलको चहलपहल बढी देखिन्छ। प्रविधि विकासले यातायात क्षेत्रमा ल्याएको राइड सेयरिङ क्रान्तिले दशकौंदेखि कायम ट्याक्सीको एकाधिकार मात्र तोडेको छैन, सरकारी नियमनमा रहेको ‘मिटर प्रणाली’ लाई समेत अस्तित्वको संकटमा पुर्याइदिएको छ।
अहिले निजी गाडीले अनलाइन एपमार्फत बजार कब्जा गरिरहेको अवस्थामा ट्याक्सी व्यवसायी पनि प्रविधि अपनाउन बाध्य छन्। आफ्नो पेसा जोगाउनकै लागि अहिले धेरै ट्याक्सीले दुवै विकल्पमा जाने गरेको व्यवसायी बताउँछन्।
प्रविधिकै कारण अहिले ढोकै अगाडि सवारी आइपुग्छ। प्रविधिले ट्याक्सीमा मिटर हेर्ने चलन अन्त्य भएको छ। यात्रु भन्छन्, ‘मिटरमा जान नमान्ने र मनोमानी भाडा माग्ने ट्याक्सीभन्दा राइड सेयरिङ एपमा देखिने स्पष्ट भाडा नै भरपर्दो छ।’
ट्याक्सि चालकमा दोधार
राइड सेयरिङको प्रभाव यात्रुमा मात्र होइन, चालकमा पनि स्पष्ट देखिन्छ। धेरै ट्याक्सी चालक अहिले राइड सेयरिङ एपमा आबद्ध भएका छन्। उनीहरूका अनुसार सडकमा यात्रु कुर्दै बस्नुभन्दा एपबाट आउने बुकिङ सजिलो छ। यात्रु खोज्न घन्टाैं घुम्नुपर्ने झन्झट प्रविधिले अन्त्य गरिदिएको छ।
तर अर्कोतर्फ राइड सेयरिङ एपलाई कमिसन तिर्नुपर्ने बाध्यता छ। कम्पनीले लिने प्रतिशतले आम्दानी घटेको चालकको गुनासो छ। साथै, भाडा निर्धारणमा पूर्ण स्वतन्त्रता पनि हुँदैन। केही चालक भन्छन्, ‘पहिले मिटर चलाएर कहिलेकाहीँ राम्रो कमाइ हुन्थ्यो, अहिले एपले तय गरेको भाडामै सीमित हुनुपर्छ।’ प्रविधिले अवसर र चुनौती दुवै ल्याएको व्यवसायीको भनाइ छ।