काठमाडौं। नेपालको पाइप तथा फिटिंग्स उद्योगमा स्थापित नाम मार्बल टेक्नोप्लास्टको व्यापार र वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। व्यवसायमा आएको सुधार र ऋण तिर्न सक्ने मजबुत क्षमताका कारण क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङमा वृद्धि (अपग्रेड) गरेको हो।
इक्रा नेपालले कम्पनीको ९१ करोड ७० लाख रुपैयाँको कुल कर्जा सीमाका लागि रेटिङ बढाएको छ। यसअन्तर्गत २६ करोड ४० लाखको दीर्घकालीन कर्जाका लागि ‘एल त्रिपलबी’बाट एल त्रिपलबी प्लस’ र ६५ करोड ३० लाखको अल्पकालीन कर्जाका लागि ‘एथ्री प्लस’ बाट ‘एटू’ अपग्रेड रेटिङ प्रदान गरिएको छ।
पछिल्ला दुई आर्थिक वर्ष (२०२३ र २०२४) मा सुस्त देखिएको मार्बलको व्यापार सन् २०२५ मा पुनः लयमा फर्किएको छ। रिपोर्ट अनुसार आर्थिक वर्ष २०२५ मा कम्पनीको सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर १ अर्ब ६१ करोड १० लाख रुपैयाँ पुगेको छ।
चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा मात्र कम्पनीले ८८ करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ, जुन वार्षिक १० प्रतिशतको वृद्धिदर हो।
कुल व्यापारमा सीपीभीसी पाइपको हिस्सा ५० प्रतिशत रहेको छ। अमेरिकाको लुब्रिजोल कर्पोरेसनसँगको विशेष ‘फ्लो गार्ड प्लस’ प्रविधिको लाइसेन्सले मार्वललाई बजारमा बलियो बनाएको छ। यद्यपि, कम्पनीको ७० प्रतिशत व्यापार केवल १० जना ठूला ग्राहकमा निर्भर रहनु र ४५ प्रतिशत व्यापार काठमाडौं उपत्यकामा मात्र केन्द्रित हुनुलाई जोखिमको रूपमा हेरिएको छ।
कम्पनीको ऋणको भार र त्यसलाई भुक्तानी गर्न सक्ने क्षमताको सन्तुलन सन्तोषजनक देखिएको छ। कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात १.३ गुणा छ। त्यस्तै, ऋणको ब्याज र किस्ता तिर्न सक्ने क्षमता झल्काउने ‘डेप्ट सर्भिस कभरेज रेसियो’ २.६ गुणा रहेको छ, जुन बलियो वित्तीय स्वास्थ्यको सूचक हो।
बैंकहरूबाट स्वीकृत कुल कर्जा सीमा ७७ करोड ६० लाखबाट बढाएर ९१ करोड ७० लाख पुर्याइएको छ । कम्पनीले आफ्नो कार्यपुँजीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्दै १५ प्रतिशतमा झारेको छ, जसले गर्दा बजारमा तरलताको अवस्था सहज बनेको छ। कम्पनीसँग अझै २९ प्रतिशत (करिब ८ करोड रुपैयाँ) बराबरको थप ऋण लिन सक्ने सुविधा बाँकी नै छ।
मार्वल टेक्नोप्लास्टको लगानी संरचना र सेयरधनीको व्यवहारमा रोचक तथ्य देखिएको छ । आर्थिक वर्ष २०२५ मा कम्पनीले आफ्नो नाफाको तुलनामा २०४ प्रतिशत लाभांश वितरण गरेको थियो, जसले गर्दा कम्पनीको आन्तरिक पुँजीमा ठूलो भार परेको थियो।
यद्यपि, उक्त लाभांशको करिब ७५ प्रतिशत रकम सन् २०२६ को मध्य मार्चसम्ममा पुनः ‘फ्रेस इक्विटी’ (नयाँ पुँजी) का रूपमा कम्पनीमै भित्र्याइएको छ। सेयरधनीको संरचनामा केही फेरबदल गर्दै परिवारकै सदस्यलाई नयाँ सेयरधनीका रूपमा भित्र्याएर पुँजी इन्जेक्सन गरिएको हो। हाल कम्पनीमा आशा अग्रवालको ४८ प्रतिशत र सन्दीपकुमार सन्चेतीको ४० प्रतिशत सेयर स्वामित्व छ। बाँकी सेयर परिवारका अन्य सदस्यको नाममा छ।
व्यापार बढे पनि मार्वलका लागि कच्चा पदार्थको पूर्ण आयात र डलरको विनिमय दरमा हुने उतारचढाव मुख्य चुनौती बनेको छ। मध्यपूर्वको भू–राजनीतिक तनावले कच्चा पदार्थको आपूर्ति र मूल्यमा चाप पर्न सक्ने जोखिम रेटिङ रिपोर्टले औंल्याएको छ।
आगामी दिनमा उच्च लाभांश निकाल्ने प्रवृत्तिलाई नियन्त्रण गर्दै आन्तरिक पुँजीलाई मजबुत बनाउनु नै कम्पनीका लागि मुख्य कार्यभार हुने देखिन्छ।