नवलपरासी। बर्दघाट एसएमइ भिलेज समुन्न नवलपरासीको आधार बन्ने विश्वास लगानीकर्ताले गरेका छन्। नेपाल उद्योग परिसंघको आयोजना तथा बर्दघाट उद्योग वाणिज्य संघ, उद्योग व्यापार संघ बर्दघाट र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको सहआयोजनामा बर्दघाटमा आयोजित अन्तरक्रियामा लगानीकर्ताले यस्तो विश्वास गरेका हुन्।
परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले परिसंघ उद्यमशीलता प्रबद्र्धन गर्न सधैँ तत्पर रहेको बताए। यस क्रममा उनले बर्दघाट एसएमइ भिलेजलाई मोडल ग्राम बनाउन पाइलट प्रोजेक्टको रुपमा अगाडि बढाउनुपर्ने बताएका थिए।
कार्यवाहक अध्यक्ष चौधरीले बर्दघाट एसएमइ ग्राममार्फत यस क्षेत्रमा साना तथा मझौला उद्योगलाई प्रवद्र्धन गर्न सकिने बताएका थिए। उद्योग स्थापना गर्दा लाग्ने लगानीमध्ये एक तिहाई जग्गामा गर्नुपर्ने बाध्यता रहेकाले औद्योगिक ग्रामको विकास आवश्यक रहेकोमा उनले जोड दिए।
नवलपरासी जिल्लामा ठूला उद्योगहरु स्थापित भइसकेका, सडक पूर्वाधार बनेकालगायत कारणले यस क्षेत्रमा साना तथा मझौला उद्योगको विकास गर्न सकिने उनको भनाइ थियो। उद्योग विकास गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण भएका नेतृत्वकर्ताका कारण यस क्षेत्रमा उत्पादनमूलक उद्योगहरु बढ्नेमा उनले विश्वास व्यक्त गरे। उनले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको जानकारी गराउँँदै बर्दघाट एसएमइ ग्रामको विकासका लागि पनि आवश्यक भूमिका खेल्ने बताए।
सरकारका पूर्वसचिव अर्जुन पोखरेलले एक पालिका एक औद्योगिक ग्राम अवधारणा अनुसार बर्दघाट एसएमइ भिलेजअगाडि बढाइएको बताए। उनले निजी क्षेत्रसँगको सहकार्य तथा सहयोगबिना औद्योगिक ग्राम सफल हुन नसक्ने भन्दै ग्रामलाई सफल बनाउन निजी क्षेत्रले सहयोग गर्नुपर्ने बताएका थिए।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले उद्योग ग्रामले औद्योगिकरणमा टेवा दिने बताए। उनले गोल्छा गु्रप यस क्षेत्रमा उद्योग ल्याउने सन्दर्भमा सकारात्मक रहेको बताउँदै देशमा रोजगारीको ठूलो समस्या रहेकाले ठूलो संख्यामा युवा जनशक्ति विदेशीएको भन्दै रोजगारी निजी क्षेत्रले दिने भएकाले उद्योग स्थापना अनिवार्य रहेको बताए।
उनले उद्योग ग्राम बनेपछि धेरै संख्यामा उद्योगहरु संचालनमा आउने विश्वास गरे। उनले १०० अर्ब डलरको अर्थतन्त्र बनाउन लगानी प्रोत्साहन आवश्यक रहेको र कानुनअनुसार गरेको प्रतिफलको सम्मान सबैले गर्न सक्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णुकुमार अग्रवालले कुल ग्राहस्र्थ उत्पादन (जीडीपी)मा उत्पादनमूलक उद्योगको योगदान घटेर ५ प्रतिशतमा आइसकेको भन्दै जीडीपीमा उद्योगहरुको योगदान कसरी बढाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताए।
यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ताले स्थानीयको सहयोगका कारण एक वर्षभित्रै आफूले बर्दघाटमा कजरीया टायल उद्योग स्थापना गर्न सफल भएको बताए। उनले यस क्षेत्रमा ठूला उद्योगसँगै साना तथा मझौला उद्योग पनि चाहिने भएकाले बर्दघाट एसएमइ भिलेजलाई सफल बनाउनुपर्ने बताएका थिए।
ठूला उद्योगसँगै साना उद्योग स्थापना गर्न सकिए त्यसले मूल्य अभिबृद्धि गर्न, ठूला उद्योगको लागत घटाउन पनि सहयोग गर्ने र रोजगारी सिर्जनामा मद्दत गर्ने उनको भनाइ थियो। ठूलो उद्योगसँगै साना उद्योग विकास गर्ने यस्तै मोडल देशका अन्य ठाउँमा पनि विस्तार गरिनुपर्नेमा उनले जोड दिए।
बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले साना उद्योगहरुको प्रबद्र्धनका लागि औद्योगिक ग्राम आवश्यक रहेको बताएका थिए। उनले स्थानीय उत्पादनसँगै राष्ट्रिय स्तरमा स्थापित उद्योगहरुले यस क्षेत्रमा उद्योग स्थापना गर्ने विश्वास व्यक्त गरे।