काठमाडौं। इजरायल, अमेरिका र इरानबीचको बढ्दो सैन्य तनाव र युद्धको आँचले मध्यपूर्वका देशहरूमा कार्यरत लाखाै नेपाली कामदारको जीवन अस्तव्यस्त बनाएको छ। युद्धको प्रत्यक्ष असर नपरेका मुलुकहरूमा समेत आर्थिक अनिश्चितता र सुरक्षा जोखिम बढेपछि रोजगारदाता कम्पनीहरूले कामदारको भिसा रद्द गर्न थालेका छन्। यसै क्रममा संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपालीको सङ्ख्या तीव्र रूपमा बढेपछि युएईस्थित नेपाली राजदूतावासले विशेष उद्धार पोर्टल सञ्चालनमा ल्याएको छ।
क्षेत्रीय युद्धको जोखिम बढेपछि विदेशी कम्पनीहरूले आफ्नो व्यापार र उत्पादन कटौती गर्न थालेका छन्। यसले गर्दा लाखाै नेपाली कामदारको रोजगारी एकाएक गुमेको छ। कतिपय कम्पनीले श्रमिकहरूलाई कुनै पूर्वसूचना नदिइकन भिसा रद्द गरेपछि ती कामदार न काम गर्न सक्ने, न स्वदेश फर्कन सक्ने अप्ठ्यारो अवस्थामा पुगेका छन्। इजरायल, जोर्डन, लेबनान लगायत युद्धग्रस्त वा तनावपूर्ण क्षेत्रबाट नेपाल फर्कने क्रममा युएईमा ट्रान्जिट हुने कामदारहरू त्यहीँ अड्किएका छन्।
यसका अतिरिक्त युएईमै कार्यरत कामदारहरूको अवस्था पनि कम चिन्ताजनक छैन। मध्यपूर्वमा युद्धको छाया फैलिएपछि युएईका कतिपय कम्पनीले समेत नेपाली कामदारको भिसा एकाएक रद्द गरेका छन्। भिसा रद्द भएपछि आवास र खाद्यान्नको व्यवस्थासमेत टुटेका ती कामदारहरू राजदूतावासको शरणमा पुग्न थालेका छन्।
यस गम्भीर अवस्थालाई मध्यनजर राख्दै युएईस्थित नेपाली राजदूतावासले https://legal.nepalconsular.gov.np/urgent-rescue मा विशेष उद्धार पोर्टल सञ्चालनमा ल्याएको छ। राजदूतावासले मुख्यतः तीन वर्गका नेपालीलाई यस पोर्टलमा आफ्नो विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
पहिलो, विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा युएईको विमानस्थलमा अलपत्र परेकाहरू। दोस्रो, भिसा अवधि समाप्त भएका तर स्वदेश फर्किने व्यवस्था नमिलेकाहरू। तेस्रो, कम्पनीले भिसा रद्द गरेपछि अनिश्चित अवस्थामा रहेकाहरू। यी सबैको विवरण संकलन गरेर उद्धारको प्रक्रिया व्यवस्थित ढङ्गले अघि बढाइने राजदूतावासले जनाएको छ। मध्यपूर्व क्षेत्र नेपाली वैदेशिक रोजगारीको मेरुदण्ड हो। युएई, साउदी अरेबिया, कतार, कुवेत र बहराइनमा गरी करिब १८ लाखभन्दा बढी नेपाली कामदार रहेको अनुमान छ। यी कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) नेपालको अर्थतन्त्रको एक प्रमुख आधार हो। तर हाल युद्धका कारण यो क्षेत्रमा अनिश्चितता बढेपछि रेमिट्यान्समा समेत उल्लेखनीय गिरावट आउने विज्ञहरूको आँकलन छ।
युएईमा अलपत्र परेका वा समस्यामा परेका सबै नेपाली कामदारले https://legal.nepalconsular.gov.np/urgent-rescue मा गई आफ्नो पूरा विवरण यथाशीघ्र भर्न राजदूतावासले आग्रह गरेको छ। विवरण प्राप्त भएपछि राजदूतावासले नेपाल सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर उनीहरूको उद्धार र स्वदेश फिर्तीको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेको छ।
मध्यपूर्वमा युद्धको आगो निभ्ने कुनै निश्चितता नरहेको यस बेला नेपाल सरकारले थप सक्रियता देखाउँदै अलपत्र कामदारको उद्धारलाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्ने माग विभिन्न तहबाट उठ्न थालेको छ।