विश्वको एल्युमिनियम बजारमा यतिखेर एउटा यस्तो तुफान आएको छ, जसलाई विशेषज्ञहरू 'ब्ल्याक स्वान' भनिरहेका छन्— अर्थात् यस्तो विपद् जसको कल्पना कसैले गरेको थिएन। स्विट्जरल्याण्डको लसानमा आयोजित फाइनान्सियल टाइम्स कमोडिटिज ग्लोबल समिटमा स्विस कमोडिटी ट्रेडिङ कम्पनी मर्क्युरियाका विश्लेषक निक स्नोडनले रोयटर्ससँग भने, "सन् २०००पछि कुनै पनि आधार धातु बजारले यति ठूलो आपूर्ति झट्का खाएको थिएन। हामी पहिले नै 'ब्ल्याक स्वान' घटनामा छौं— यो स्तरको संकट आउँछ भनेर कसैले सोचेको थिएन।"
यस संकटको मूल जरो हर्मुज जलसन्धिमा छ। खाडी क्षेत्रले विश्वको कुल एल्युमिनियम उत्पादनको ९ प्रतिशत हिस्सा एकलै ओगट्छ। अमेरिका र इरानबीचको तनाव चर्किँदा हर्मुज जलसन्धि अवरुद्ध भएको छ र क्षेत्रका प्रमुख एल्युमिनियम स्मेल्टरहरूले एकपछि अर्को गरी 'फोर्स म्याजर' घोषणा गर्दै उत्पादन रोक्न थालेका छन्।
मर्क्युरियाको अनुमानअनुासर, यो वर्षको अन्त्यसम्म विश्व बजारमा कम्तीमा २० लाख टन एल्युमिनियमको अभाव हुनेछ। अहिले विश्वभर देखिने गरी सञ्चित स्टक जम्मा १५ लाख टन छ र लुकेको स्टकसमेत जोड्दा ३० लाख टन मात्र पुग्छ। यदि अमेरिका-इरान द्वन्द्व लम्बियो भने घाटा झन् चर्को हुन सक्छ।
सबैभन्दा चिन्ताजनक कुरा के छ भने यस संकटको मार सबैभन्दा पहिले अमेरिका र युरोपले खेप्नेछन्। यी दुवै क्षेत्र मध्यपूर्वबाट हुने एल्युमिनियम आयातमा भारी निर्भर छन् र तिनीहरूसँग अहिले आफ्नै स्टक पनि न्यून छ।
जेपीमोर्गनका विश्लेषकहरूले बजार एउटा 'ब्ल्याक होल'मा प्रवेश गर्दैछ— अर्थात् त्यस्तो बिन्दुमा जहाँबाट फर्किन गाह्रो हुन्छ भनिरहेका छन्। हर्मुज जलमार्ग चाँडै खुले पनि विश्व एल्युमिनियम बजार दीर्घकालीन र गम्भीर आपूर्ति अभावको सामना गर्नबाट जोगिन नसक्ने उनीहरूले चेतावनी दिइरहेका छन्।
गोल्डम्यान स्याक्सका कमोडिटी विशेषज्ञ जेम्स म्याकजियोचले आफ्ना ग्राहकहरूलाई भने, "यो भन्दा ठूलो धातु आपूर्ति संकट कल्पना गर्न गाह्रो छ।"
एल्युमिनियम मूल्य पहिले नै ४ वर्षकै उच्च बिन्दुमा पुगिसकेको छ। र यसको असर केवल बजारको तथ्याङ्कमा सीमित छैन। विमान, सैन्य ट्याङ्क, मोटरगाडी र विद्युत पूर्वाधार, ती सबैमा एल्युमिनियम अपरिहार्य कच्चा पदार्थ हो।