काठमाडौं। गैरआवासीय नेपाली सघ९एनआरएनए० संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो ले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ संकल्पको अभाव रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एनआरएनएको १२औँ एकता महाधिवेशनमा बोल्दै उनले देश बनाउने संकल्प भए छोटो समयमै नेपाललाई आर्थिक रूपमा समृद्ध बनाउन सकिने बताए। नेपालीहरू बौद्धिक, आर्थिक, शारीरिक तथा मानसिक रूपमा देश विकासका लागि सक्षम रहेको उनको भनाइ थियो।
महतोका अनुसार आगामी १० वर्षभित्र नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्र बनाउने लक्ष्य सजिलै हासिल गर्न सकिन्छ। नेपालभित्र र विदेशमा रहेका नेपालीहरूको आर्थिक गतिविधि जोड्दा अर्थतन्त्रको आकार अहिले नै करिब १०० अर्ब डलर पुग्न लागेको उनले उल्लेख गरे।
हाल करिब ८० लाख नेपाली विदेशमा रहेको र वार्षिक करिब २० अर्ब डलर रेमिट्यान्स नेपाल भित्रिने गरेको उनले बताए। नेपालभित्रको अर्थतन्त्र जति छ, त्यति नै आर्थिक गतिविधि विदेशमा रहेका नेपालीहरूसँग पनि जोडिएको उनको भनाइ थियो।
महतोले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीहरूको लगानी महत्वपूर्ण हुने उल्लेख गर्दै सरकारसँग गुनासो मात्र गर्ने प्रवृत्ति त्यागेर देश निर्माणमा सक्रिय भूमिका खेल्न गैरआवासीय नेपालीहरूलाई आह्वान गरे।
विदेशी लगानी आकर्षित गर्नुअघि गैरआवासीय नेपाली तथा स्वदेशी निजी क्षेत्रको लगानी बलियो बनाउनुपर्नेमा उनले जोड दिए। उनका अनुसार गैरआवासीय नेपाली र स्वदेशी लगानीकर्ताको लगानी मजबुत नभएसम्म विदेशी लगानी सहज रूपमा नेपाल भित्रिन सक्दैन।
उनले नेपाली निजी क्षेत्रले गैरआवासीय नेपालीहरूलाई बेवास्ता गरेको गुनासो गर्दै निजी क्षेत्र र गैरआवासीय नेपाली मिलेर काम नगरेसम्म नेपालले अपेक्षित आर्थिक प्रगति गर्न नसक्ने धारणा राखे।
महतोले विदेशमा बसेर सरकार र नेपालीलाई सुझाव मात्रै नदिन आग्रह गर्दै देश बनाउने जिम्मेवारी सबैको भएको उल्लेख गरे। उनले नेपालमा आएर प्रत्यक्ष योगदान गर्न गैरआवासीय नेपालीहरूलाई आह्वान पनि गरे।