काठमाडौं। सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा ६२ देशमा विस्तार गरेको छ। कम्पनीले ८९ वटा विदेशी दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य विस्तार गरेसँगै सेवा दायरा बढेको हो।
कम्पनीका अनुसार चालू आर्थिक वर्षको साउनपछि लाटभिया, स्लोभेनिया, टर्की, ताइवान ९आरओसी०, घाना, रोमानिया र लाओसका विभिन्न सेवा प्रदायकसँग नयाँ सम्झौता गरिएको छ। साथै पाकिस्तान, बेलारुस र श्रीलंकाका थप सेवाप्रदायकसँग पनि रोमिङ सेवा विस्तारका लागि सहकार्य अघि बढाएको छ।
यसअघि अष्ट्रेलिया, अष्ट्रिया, बहराइन, बंगलादेश, बेल्जियम, बुल्गेरिया, क्यानडा, चीन, क्रोएसिया, साइप्रस, डेनमार्क, इजिप्ट, जर्मनी, ग्रीस, हङकङ, हंगेरी, आइसल्यान्ड, भारत, इन्डोनेसिया, आयरल्यान्ड, इजरायल, इटाली, जापान, कजाकस्तान, कुवेत, लिच्टेन्सटाइन, लक्जेम्बर्ग लगायतका देशमा रोमिङ सेवा उपलब्ध थियो। अहिले मलेसिया, मकाउ, माल्टा, मौरिससमा पनि सेवा विस्तार गरिएको टेलिकमले बताएको छ।
यस्तै, मेक्सिको, म्यानमार, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, फिलिपिन्स, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिंगापुर, दक्षिण कोरिया, स्विडेन, स्वीट्जरल्यान्ड, थाइल्यान्ड, यूएई, बेलायत, अमेरिका, उज्वेकिस्तान, भियतनामलगायतका देशमा पनि सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ।
रोमिङ सेवाअन्तर्गत प्रयोगकर्ताले भ्वाइस, डाटा तथा एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्। विदेश जाने वा बस्ने नेपालीका लागि यो सेवा उपयोगी भएको कम्पनीको भनाइ छ।
प्रिपेड प्रयोगकर्ताका लागि भारतबाहेक अन्य देशमा रोमिङ सेवा स्वतः सुचारु हुने व्यवस्था गरिएको छ। भारतमा भने मोबाइलबाट ८१४१५३ डायल गरी ‘रोमिङ’ विकल्प छनोट गर्नुपर्नेछ। पोस्टपेड प्रयोगकर्ताका हकमा सेवा सञ्चालनका लागि मोबाइलमा कम्तीमा पाँच हजार रुपैयाँ ब्यालेन्स हुनुपर्नेछ।
नेपालमै रहँदा ८१४१५३ डायल गरेर रोमिङ सेवा सक्रिय गर्न सकिनेछ भने विदेश पुगेपछि सेवा सक्रिय नभएको अवस्थामा इमेलमार्फत अनुरोध गरेर पनि सेवा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।