काठमाडौं। चीनतर्फका सीमा नाकामा नेपाली व्यवसायीहरूका सामान अलपत्र पर्ने समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। चिनियाँ भन्सार तथा सुरक्षा निकायहरूले कन्टेनर खोलेर विस्तृत भौतिक जाँच गर्न थालेपछि गाडी, स्पेयर पार्टस, फलफूललगायत दैनिक उपभोग्य वस्तुहरू नेपाल भित्रिन हप्तौँ लाग्ने अवस्था आएको छ।
अर्डर गरेका सामान समयमा नआउँदा व्यवसायीहरू आर्थिक क्षतिको भारी बोक्न बाध्य भएका छन् भने उपभोक्ताहरूले बजारमा आवश्यक वस्तु पाउन कठिनाइ भोग्न थालेका छन्। यो समस्याको जरो खोज्दा एउटा राजनीतिक घटना क्रमसँग धागो जोडिन पुग्छ। केही समयअघि नवनिर्वाचित सांसद सुदन गुरुङ चोरी तथा तस्करी नियन्त्रण गर्ने अभियानअन्तर्गत चिनियाँ सीमा नाकामा पुगेका थिए।
सामान्य परिस्थितिमा यो एउटा सामान्य नागरिक निरीक्षण भ्रमण मात्र हुने थियो। तर, चिनियाँ पक्षले सुदन गुरुङलाई 'टिबेटियन ओरिजिनल ब्लड' नामक संस्थाको सदस्यको रूपमा चिनेको बुझिएको छ। टीओबीलाई चीनले तिब्बत स्वायत्तताको पैरवी गर्ने आन्दोलनसँग सम्बन्धित संगठनको रुपमा हेर्दछ। जुन बेइजिङका लागि अत्यन्त संवेदनशील विषय हो। त्यही भ्रमणपछि चिनियाँ सुरक्षा निकायले नेपालतर्फ जाने सामान जाँचमा अचानक कडाइ गर्न थालेको व्यवसायीहरूको आरोप छ।
व्यवसायीका अनुसार पहिले जुन सहजतासाथ सामान नाका पार गर्थ्यो। अब त्यही प्रक्रिया कयौँ गुणा लामो र झन्झटिलो भएको छ। चिनियाँ अधिकारीले प्रत्येक कन्टेनर उतै खोलेर सामग्री एकएक गरी जाँच्ने, कागजात बारम्बार मागिने र 'स्पेस पास' दिन हप्तौँ कुराउने गरेपछि व्यवसायीका लागि समय र पैसा दुवैको ठूलो क्षति भइरहेको छ।
चिनियाँ पक्षले कन्टेनर रोकेर जाँच गर्दा गर्दै भित्र राखिएका तरकारी र फलफूल कुहिन थाल्छन्।
यो ढिलाइको मार सबभन्दा बढी महसुस भइरहेको क्षेत्र हो- अटोमोबाइल उद्योग। स्पेयर पार्टस समयमा नआउँदा काठमाडौँलगायत देशभरका वर्कशपहरूमा गाडी मर्मत हुन नसकी थन्किएका छन्।
ग्राहकहरू आफ्नो गाडी कहिले ठीक हुन्छ भनेर पर्खिरहेका छन्। तर, मेकानिकसँग पनि भन्न सक्ने उत्तर छैन किनकि उनीहरू आफैँ पार्टसको प्रतीक्षामा छन्। यो समस्याले परिवहन क्षेत्रमा मात्र नभएर आम उपभोक्ताको दैनिक जीवनमा समेत असर पारिरहेको छ।
फलफूल व्यवसायको हालत झनै नाजुक छ। चिनियाँ पक्षले कन्टेनर रोकेर जाँच गर्दा गर्दै भित्र राखिएका तरकारी र फलफूल कुहिन थाल्छन्। जुन सामान नेपाल आइपुग्दा ताजा हुनुपर्ने थियो। त्यो अर्धसडेको अवस्थामा आइपुग्छ। कहिलेकाहीँ त पूरै नष्ट भएर आउँछ। व्यवसायीहरूले भन्छन्- अर्डर गर्दा लगाइएको पुँजी गयो, सामान आउँदासम्म बिक्री योग्य रहेन, र ग्राहकले भरोसा गुमाउँदै गयो। यो तेहरो मार एकैपटक सहनु परेको छ।
कुलेश्वर फलफूल बजारका अध्यक्ष अम्बर बानियाँ यो समस्यासँग वर्षौंदेखि परिचित छन्। उनले भन्छन्, 'नेपालमा सानो राजनीतिक इसु हुनासाथ चीनले कुनै न कुनै बहाना बनाएर नाका बन्द गरिदिने वा सामान पठाउन ढिलाइ गर्छ।'
उनका अनुसार यो पहिलोपटक भएको घटना होइन। कहिले सडक मर्मतको बहाना, कहिले प्राकृतिक प्रकोपको दोहाइ, कहिले सुरक्षा जाँच- चिनियाँ पक्षले विभिन्न कारण देखाउँदै आएको र त्यसको अन्तिम परिणाम भनेको नेपाली व्यवसायीहरूको मात्र क्षति हुने गरेको छ।
बानियाँका अनुसार करिब १५ दिन नाका खुला राख्ने र अनि अर्को १५ दिन बन्द गर्ने शैली बारम्बार दोहोरिने गरेको छ। यस्तो अनिश्चित अवस्थामा व्यवसाय गर्नु भनेको जुवा खेल्नुसरह भएको उनको गुनासो छ। सामान कहिले आउँछ, के आउँछ, आउँदा अवस्था कस्तो हुन्छ- यो कसैलाई थाहा हुँदैन। यस्तो वातावरणमा दीर्घकालीन व्यावसायिक योजना बनाउनु सम्भव नभएको उनको भनाइ छ।
यो सम्पूर्ण विवादमा सरकारी पक्षको भनाइ भने फरक छ। रसुवा भन्सारका सूचना अधिकारी ठाकुर गौतम समस्यालाई मौसमी कारणसँग जोड्छन्। उनका अनुसार अहिले जाडो र गर्मीको बीचको 'अफ-सिजन' भएकाले सामानको आवागमन स्वाभाविक रुपमा कम देखिन्छ।
गर्मी याममा आवश्यक सामान आइसकेको छ भने चाडपर्वको सिजनमा आउने सामानको समय अझै आएको छैन। यसैले अहिले नाकामा कम चाप देखिनु असामान्य होइन भन्ने उनको तर्क छ।
व्यवसायीहरूको चिन्ता छ- यो क्रम यसरी नै जारी रह्यो भने चीनबाट आयातमा निर्भर नेपाली बजारमा वस्तुको अभाव, मूल्यवृद्धि र आपूर्ति शृङ्खलाको गहिरो संकट आउन सक्छ।
थप्दै उनले भने, 'आगामी अप्रिल १ देखि सडक मर्मत कार्य सुरु हुने भएकाले करिब १५ दिनसम्म सामान आयातमा थप अवरोध आउन सक्छ।' तर, अहिले सामान आयात निरन्तर भइरहेको उनको दाबी छ।
सरकारी अधिकारी र व्यवसायीको भनाइ बीचको यो खाडल नयाँ होइन। अनुभवी व्यवसायीहरू भन्छन्- तथ्यांकमा सामान आइरहेको देखिन सक्छ। तर, त्यो सामान आउन लागेको समय र लागत पहिलेभन्दा कति बढी छ भन्ने कुरा सरकारी तथ्याङ्कले देखाउँदैन।
विरोधाभासी कुरा के छ भने, भारततर्फका नाकाहरूमा बेलाबेला चोरी तस्करीका घटनाहरू सार्वजनिक हुँदै आएका छन्।तर, व्यावसायिक सामान आवागमनमा त्यहाँ यति ठूलो अवरोध आउने गरेको छैन। चिनियाँ नाकाहरूमा तस्करीका घटना कम छन्- यो व्यवसायीहरू आफैँ स्वीकार गर्छन्। तर, सामान भित्र्याउन भने चिनियाँ नाकामा नै बढी कठिनाइ हुने गरेको उनीहरू बताउँछन्। यसले चिनियाँ पक्षको जाँचको उद्देश्य सुरक्षा होइन, राजनीतिक सन्देश दिनु हो भन्ने व्यवसायीहरूको आशंकालाई बल दिन्छ।
नेपाल-चीन व्यापारमा यस्ता अवरोधहरू नयाँ होइनन्। तर, पछिल्लो समय ती अवरोधहरू बढी बारम्बार र बढी लामो भएका छन्। व्यवसायीहरूको चिन्ता छ- यो क्रम यसरी नै जारी रह्यो भने चीनबाट आयातमा निर्भर नेपाली बजारमा वस्तुको अभाव, मूल्यवृद्धि र आपूर्ति शृङ्खलाको गहिरो संकट आउन सक्छ। सरकारले कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसँग यो विषय उठाउनुपर्ने माग व्यवसायीहरूले गरिरहेका भए पनि अहिलेसम्म त्यस दिशामा ठोस पहल भएको देखिएको छैन।