काठमाडौं। काठमाडौंको पर्यटन प्रवर्द्धन तथा व्यवसायिक सहकार्यलाई थप सशक्त बनाउने उद्देश्यका साथ काठमाडौं साइडसिन प्रा.लि. र जिल्ला होटल व्यवसायी संघ काठमाडौंबीच व्यापारिक सम्झौता भएको छ।
सोमबार एक कार्यक्रमका साइडसिन प्रालिका डाइरेक्टर डा. एलेन बैलोचन तुलाधर र जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
साइडसिन प्रालिका डाइरेक्टर डा. एलेन बैलोचन तुलाधरले कम्पनीले पर्यटकहरूलाई काठमाडौं उपत्यकाका प्रमुख पर्यटकीय क्षेत्रहरूको भ्रमण अत्याधुनिक र सहज तरिकाले गराउने योजनाबारे विस्तृत जानकारी गराएका थिए।
उनले कम्पनीको सेवा विस्तार र व्यवस्थित पर्यटन अनुभव निर्माणमा निजी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने बताए।
सम्झौताअनुसार काठमाडौंको पर्यटन प्रवर्द्धनका लागि एकीकृत मार्केटिङ, यातायात व्यवस्थापन तथा होटल सञ्जालमार्फत सहकार्य गर्ने सहमति गरिएको छ।
विमानस्थलमा आगमन गर्ने पर्यटकहरूलाई लक्षित गरी सूचना, टिकट बिक्री र यातायात सेवा व्यवस्थापनमा सहकार्य गरिनेछ। साथै संघले आफ्ना सदस्य होटलहरूलाई कम्पनीको आधिकारिक बिक्रेताका रुपमा आबद्ध गराउँदै होटलमा प्रत्यक्ष प्रचार प्रसार, ब्रोसर वितरण तथा ब्रान्डिङका कार्यक्रम सञ्चालन गर्ने छ।
त्यसैगरी संघका वार्षिक कार्यक्रम, प्रकाशन तथा अन्य प्रवर्द्धनात्मक गतिविधिमा काठमाडौं साइटसिइङलाई समावेश गरिनेछ। दुवै पक्षबीच संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने सहमति पनि गरिएको छ। सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नियमित समीक्षा बैठकहरू बस्ने व्यवस्था मिलाइएको छ।
यस सहकार्यले काठमाडौंको पर्यटन क्षेत्रलाई थप व्यवस्थित, आकर्षक र प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।