काठमाडौं। चर्चित मादक पदार्थ ‘खुकुरी रम’को आधिकारिक वितरक सगरमाथा मार्केटिङले ७ महिनामै साढे ५ अर्ब रुपैयाँ बढीको व्यापार (राजस्व) गरेको छ। कम्पनीले चालु वर्षको ७ महिनामा खुकुरी रमसँगै कार्दा रम, न्युड भोड्का र एरिस्टोक्रयाट हिस्कीको ५ अर्ब ५० करोड ५० लाख रुपैयाँ (अपरिस्कृत) को व्यापार गरेको हो।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको रिपोर्टअनुसार कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब १० करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने अघिल्लो वर्ष ५ अर्ब ७७ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। जाडो महिना रमको मुख्य सिजन भएकाले वर्षभरिको कुल व्यापारको ६५ देखि ७० प्रतिशत हिस्सा नोभेम्बरदेखि जनवरीको बीचमा हुने गर्दछ।
सन् १९९९ मा स्थापना भएको सगरमाथा मार्केटिङ कम्पनीले विगत एक दशकदेखि ‘द नेपाल डिस्टिलरिज प्रालि’का उत्पादनहरुको राष्ट्रिय वितरकका रुपमा काम गर्दै आएको छ। कम्पनीको कुल व्यापारमा खुकुरी एक्सएक्सएक्स रम’ को मात्रै हिस्सा करिब ८७ प्रतिशत रहेको छ। कम्पनीमा अध्यक्ष दाताराम प्रसाईको ४० प्रतिशत र प्रवन्ध निर्देशक हेन्तराज प्रसाईको ४० प्रतिशत सेयर स्वामित्व छ।
कम्पनीले चालु खर्चका लागि लिएको ६९ करोड रुपैयाँ अल्पकालिन बैंक ऋण नविकरणका लागि रेटिङ गराएकोमा इक्रा नेपालले कम्पनीलाई ‘ए–थ्रि’ रेटिङ पुनः पुष्टि गरेको छ। देशमा जारी आर्थिक सुस्तताका बाबजुद कम्पनीले वार्षिक ५ देखि ६ प्रतिशतको औसत वृद्धिदर कायम राखेका कारण रेटिङ सुरक्षित गरिएको रिपोर्टमा उल्लेख छ। यद्यपि, कम्पनीले आर्जन गरेको नाफाको ठूलो हिस्सा (विगत ३ वर्षमा औसत ९७ प्रतिशत) लाभांशका रुपमा बाँड्ने गरेकाले कम्पनीको आन्तरिक तरलता भने न्यून रहने गरेको इक्राले उल्लेख गरेको छ।
व्यापार राम्रो भए पनि कम्पनीका केही चुनौतीहरु रहेका छन्। कम्पनीको सञ्चालन नाफा मार्जिनमा केही गिरावट आएको छ। सन् २०२४ मा ३.६ प्रतिशत रहेको मार्जिन २०२५ मा घटेर २.५ प्रतिशतमा खुम्चिएको थियो, यद्यपि चालु आर्थिक वर्षको ७ महिनामा यो ३.२ प्रतिशत पुगेको छ।
यसबाहेक, एउटै उत्पादक (नेपाल डिस्टिलरिज) र एउटै उत्पादन (खुकुरी रम) मा अत्यधिक निर्भर रहनु कम्पनीको मुख्य जोखिम हो। सरकारले मदिराजन्य पदार्थमा वर्षेनी बढाउने अन्तःशुल्क र नीतिगत परिवर्तनले पनि कम्पनीको व्यापार र नाफामा असर पुरÞ्याउन सक्ने इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ।