काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज तीव्र उतारचढाव देखिएको छ। कारोबार सुरु भएको केही समयमै सुधारोन्मुख देखिएको बजार पछिल्लो दुई घण्टाको अन्तरालमा भने निकै अस्थिर बनेको छ।
नेप्से परिसूचकमा पछिल्लो २ घण्टामै करिब ९४ अंकको डर लाग्दो गिरावटले पुँजी बजारमा ठूलो हलचल पैदा गरेको छ। कारोबार सुरु हुँदा सकारात्मक लयमा देखिएको बजार ११ः३० बजेपछि एकाएक ओरालो लाग्न थाल्यो। १ः३० बजेसम्म आइपुग्दा बजारले करिब ७५ देखि ९४ अंकको गिरावट व्यहोर्नुपर्यो।
प्राविधिक चार्टलाई सूक्ष्म रूपमा हेर्दा बजार २७७५ को विन्दुबाट सीधै तल झरेर २६९२ अंककोसतहमा आएको थियो। त्यसपछि भने केही करेक्सन भएर परिसुचक उकालो लाग्न थालेको छ। यो छोटो समयको अन्तरालमा भएको ठूलो गिरावटले लगानीकर्ताहरूमा त्रास फैलाएको छ जसका कारण बजारमा ‘प्यानिक सेलिङ’ को अवस्था सिर्जना भएको छ।
विशेषगरी आजको बजारलाई तल झार्न हिमालयन रि-इन्सुरेन्स र नेपाल पुनर्बिमा कम्पनी जस्ता ठूला पूँजी भएका कम्पनीहरूको मुख्य भूमिका रहेको छ। समचार तयार गर्दासम्म हिमालयन रि-म भएको छ भने नेपाल पुनर्बिमा कम्पनीको मूल्य पनि ७.१० प्रतिशतले घटेर ९९५ मा खुम्चिएको छ। यी कम्पनीहरूमा देखिएको उच्च बिक्री चापले गर्दा समग्र उप–सूचकहरू नै राताम्मे बनेका छन्। भने नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
यसबाहेक आरम्भ भौतारी लघुवित्त, हिमस्टार र सम्तकोशी डेभलमपमेन्ट बैंक जस्ता कम्पनीहरूको मूल्यमा पनि करिब ८ प्रतिशत भन्दा बढीको गिरावट आएपछि बजार सम्हालिन निकै कठिन भइरहेको छ।
बजार समग्रमा ओरालो लागे पनि केही सीमित कम्पनीहरूमा भने लगानीकर्ताको आकर्षण अझै बाँकी रहेको देखिन्छ। रिलजाइन्स स्पिनिङ्ग, भुजुङ्ग हाइड्रो पावर, रिग्दी इनर्जी र होठल फरेस्ट इन जस्ता कम्पनीहरूको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्नुले लगानीकर्ताहरू ठूला र विवादित कम्पनीबाट पैसा झिकेर साना जलविद्युत तथा फाइनान्स कम्पनीतिर मोडिएको संकेत गर्दछ।
यद्यपि, बजारको यो अस्थिरताले ठूला लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन्। अहिलेको अवस्थामा हल्लाको पछि नलागी कम्पनीहरूको आधारभूत पक्षलाई विचार गरेर मात्र लगानीको निर्णय लिनु पर्ने देखिन्छ।
हिमालयन रि-इन्सुरेन्समा शंकास्पद लगानी रहेको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान र नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले फाइल पुनः खोलेको समाचार बाहिरिएसँगै बजारमा तीव्र हलचल पैदा भएको छ। यसै नकारात्मक समाचारका कारण लगानीकर्ताहरू हच्किँदा कम्पनीको सेयरमा उच्च बिक्री चाप देखिएको छ। जसले गर्दा यसको मूल्यमा ठूलो गिरावट आई समग्र उपसूचकलाई तल धकेलेको छ।
