काठमाडौं। नेपालको खाजा (स्न्याक्स) बजारमा करिब दुई दशकदेखि आफ्नो बलियो उपस्थिति जनाउँदै आएको आमुडी फुड्सको व्यापारमा भारी गिरावट आएको छ। ‘यू-एन-मी’ ब्राण्डको उत्पादक कम्पनी आमुडी फुड्सको व्यापार चार वर्षमा करिब साढे ५७ प्रतिशतले घटेको हो।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार विगत चार वर्षको अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी (राजस्व) करिब ५७.२४ प्रतिशतले घटेर साढे ६ करोड रुपैयाँमा सिमित भएको छ। कुनै समय नेपालको चिज बल र चिज रिङ्सको क्षेत्रमा अग्रणी मानिएको यो कम्पनीको व्यापार आर्थिक वर्ष २०२२ मा १५ करोड २० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ सम्म आइपुग्दा घटेर जम्मा ६ करोड ५० लाख रुपैयाँमा सीमित हुन पुगेको छ।
कम्पनीको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०२३ मा १४ करोड १० लाख रुपैयाँको व्यापार गरेको आमुडीले आर्थिक वर्ष २०२४ मा आइपुग्दा ठूलो गिरावट बेहोर्दै ७ करोड ७० लाख रुपैयाँमा खुम्चिएको थियो। चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिना (पुस मसान्त) सम्मको तथ्यांक हेर्दा कम्पनीले ३ करोड ३० लाख रुपैयाँ बराबरको मात्र व्यापार गर्न सकेको छ। यसरी निरन्तर आम्दानी घट्नुलाई बजारमा बढ्दो तीव्र प्रतिस्पर्धा र कम्पनीको कमजोर बजार विस्तार रणनीतिलाई मुख्य कारण मानिएको छ।
व्यापारमा भारी गिरावट आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिनमा भने केही सुधार देखिएको छ। आर्थिक वर्ष २०२२ मा १५.०६ प्रतिशत रहेको यस्तो मार्जिन आर्थिक वर्ष २०२५ मा बढेर ३८.४७ प्रतिशत पुगेको छ। चालू आर्थिक वर्षको ६ महिनामा ३८.४० प्रतिशत कायम छ।
कम्पनीको खुद नाफा मार्जिन भने विगतका वर्षहरूमा निकै न्यून अर्थात् शून्य दशमलव ०७ देखि शून्य दशमलव ०८ प्रतिशतको हाराहारीमा रहने गरेको थियो। जुन आर्थिक वर्ष २०२५ मा केही सुधारिएर ४.४५ प्रतिशत पुगेको छ। विगतमा ऋणको ब्याज भार उच्च हुँदा नाफामा दबाब परेको भए पनि पछिल्लो समय ब्याज खर्चमा आएको कमीले नाफाको अनुपातमा केही राहत मिलेको देखिएको छ।
लामो समयसम्म सामान स्टकमा रहनु र नगद चक्र ढिलो हुनुले कम्पनीमा तरलताको ठूलो चुनौती निम्त्याउन सक्ने देखिन्छ।
सन् २००७ मा ‘मारिगोल्ड फुड्स’को नामबाट स्थापना भई सन् २०१३ मा आमुडी फुड्समा परिणत भएको यो कम्पनीले हालै मात्र (२९ जेठ, २०८२) आफूलाई पब्लिक लिमिटेडमा रूपान्तरण गरेको छ। कम्पनीले आगामी दिनमा सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। जसबाट संकलित रकमले कम्पनीको व्यावसायिक विस्तार र ऋण व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आमुडी फुड्सको पुँजी संरचनामा भने केही सकारात्मक सुधार देखिएको छ। प्रवर्द्धकहरूले थप पूँजी लगानी गरेसँगै कम्पनीको ऋण र इक्विटीको अनुपातमा उल्लेख्य सुधार आएको हो। आर्थिक वर्ष २०२४ मा ५.३९ गुणा रहेको यस्तो अनुपात सन् २०२५ को अन्त्यमा २.१७ गुणामा झरेको थियो। सन् २०२६ को मध्य जनवरीसम्म आइपुग्दा यो सुधारिएर २.०९ गुणा कायम भएको छ।
यसले कम्पनीको वित्तीय स्वास्थ्यमा केही स्थिरता ल्याउने संकेत गरे पनि यसको कार्यगत पूँजी चक्र भने निकै डर लाग्दो अवस्थामा रहेको पाइएको छ। रिपोर्टअनुसार कम्पनीको अपरेटिङ चक्र आर्थिक वर्ष २०२५ मा ७४६ दिन पुगेको छ। यसको मुख्य कारण कम्पनीले उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र उत्पादित वस्तु ९०२ दिनसम्म भण्डारण गरेर राख्नु र बजारमा उधारो गएको पैसा उठ्न १२६ दिनसम्म लाग्नु हो।
लामो समयसम्म सामान स्टकमा रहनु र नगद चक्र ढिलो हुनुले कम्पनीमा तरलताको ठूलो चुनौती निम्त्याउन सक्ने देखिन्छ। कम्पनीको मुख्य उत्पादन ‘यू-एन-मी चेजी चिज रिङ्स’ नेपाली बजारमा निकै परिचित भए पनि हाल स्वदेशी र बहुराष्ट्रिय ब्राण्डहरूले बजारमा कडा प्रतिस्पर्धा गरिरहेका छन्।
साथै, स्न्याक्स उत्पादनका लागि आवश्यक पर्ने मुख्य कच्चा पदार्थहरू जस्तै रिफाइन्ड ग्रिट, पाम आयल, चिज पाउडर र अन्य मसालाहरूको मूल्य अन्तर्राष्ट्रिय बजारमा अस्थिर हुनु र कृषिमा आधारित वस्तुको उपलब्धतामा हुने मौसमी उतारचढावले कम्पनीको लागत नियन्त्रणमा चुनौती थपिदिएको छ।
चितवनमा उत्पादन कारखाना र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको यस कम्पनीको करिब ९५ प्रतिशत सेयर प्रमुख प्रवद्र्धक अच्युत बस्नेतको नाममा छ। उनीसँग यस क्षेत्रमा तीन दशक लामो अनुभव रहेको छ।
रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले कम्पनीको समग्र वित्तीय अवस्था, घट्दो आम्दानी र कार्यगत पूँजीको जोखिमलाई मध्यनजर गर्दै आमुडी फुड्सलाई ‘आईआएरएन बी प्लस’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीसँग आफ्ना वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।
आगामी दिनमा कम्पनीले आफ्नो राजस्वको आधार बलियो बनाउन नसकेमा वा आइपिओ निष्कासन र त्यसको उचित परिचालन गर्न नसकेमा वित्तीय सन्तुलन मिलाउन थप कठिन हुने देखिन्छ। खास गरी उच्च भण्डारण अवधिलाई घटाएर कार्यगत पुँजीको प्रभावकारी व्यवस्थापन गर्नु कम्पनीका लागि अबको मुख्य चुनौती बनेको छ।