काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँवर निर्विरोध निर्वाचित भएका छन्। महासंघको प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामवलीअनुसार अध्यक्ष पदमा कुँवरको एक्लो उम्मेदवार परेपछि स्वतः निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष (उद्योग र वाणिज्य) मा मदनराज पन्त, कोषाध्यक्षमा प्रेमबहादुर भण्डारी तथा जिल्ला र नगरतर्फका सदस्यहरूमा विष्णुराज जोशी, कृष्णबहादुर तामाङ, कृष्णकुमारी विष्ट, खेमेश्वरप्रसाद बोहरा र मदनराज न्यौपाने समेत निर्विरोध चयन भएका छन्।
त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एसोसिएट सदस्यमा बमबहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ।
यसअघि कुँवरले कैलाली उद्योग वाणिज्य संघको अध्यक्षका रूपमा दुई कार्यकाल सफलतापूर्वक जिम्मेवारी सम्हालेका थिए। उनले व्यवसायीहरूको हकहित संरक्षण, उद्योग तथा व्यापार प्रवर्द्धन र निजी क्षेत्र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएका छन्। उनको अनुभव, नेतृत्व क्षमता र व्यवसायी समुदायबीचको लोकप्रियताका कारण प्रदेशस्तरीय महासंघको नेतृत्वमा पनि सर्वसम्मत समर्थन प्राप्त भएको हो।
नवनिर्वाचित अध्यक्ष कुँवरले सुदूरपश्चिम प्रदेशमा उद्योग, व्यापार र लगानीमैत्री वातावरण निर्माण गर्न प्राथमिकता दिने बताएका छन्। साथै, निजी क्षेत्रलाई अझ सशक्त बनाउँदै प्रदेशको आर्थिक विकासमा महासंघलाई प्रभावकारी बनाउने उनको योजना रहेको छ।
निर्वाचन अधिकृत खगेन्द्रराज जोशीले तोकिएको समयभित्र अन्य कुनै उम्मेदवारी नपरेपछि सम्पूर्ण पदाधिकारीहरू निर्विरोध चयन भएको बताए।