काठमाडौं। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक (कार्तिक, मंसिर, पुष) मा नेपालको कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/८२ को सोही त्रैमासिकको तुलनामा ४.०५ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धिदर सामान्य देखिए पनि भित्री संरचनाले छरिएको चित्र देखिन्छ। अर्थतन्त्रकाे एउटा क्षेत्र २२ प्रतिशतभन्दा माथि उफ्रिँदा अर्को क्षेत्र आधा प्रतिशतमा मात्र सीमित रहेको छ।
गत वर्षको दोस्रो त्रैमासिकसँग दाजिँदा यस वर्षको दोस्रो त्रैमासिकमा ४.०५ प्रतिशत वृद्धि भयो। यसले अर्थतन्त्रले वार्षिक आधारमा सकारात्मक गति कायम राखेको देखाउँछ। यही आर्थिक वर्षको पहिलो त्रैमासिकसँग दाजिँदा दोस्रो त्रैमासिकमा २.०४ प्रतिशत वृद्धि भयो। स्थिर मूल्य (आधार वर्ष २०६७/६८) मा दोस्रो त्रैमासिकको कुल अर्थतन्त्र असमायोजित रूपमा ६८ खर्ब ४६ अर्ब ५३ करोड पुगेको छ। जुन अघिल्लो वर्षको सोही अवधिमा ६५ खर्ब ७९ अर्ब ७८ करोड थियो।
यस त्रैमासिकमा विद्युत, ग्याँस तथा वातानुकूलन सम्बन्धित क्रियाकलापमा २२.७४ प्रतिशतको छलाङ। यस क्षेत्रको स्थिर मूल्यमा दोस्रो त्रैमासिकको मूल्य अभिवृद्धि अघिल्लो वर्षको १४ हजार ६७३ करोडबाट यस वर्ष १८ हजार १० करोड रूपैयाँ पुगेको छ। जलविद्युत उत्पादन र वितरणमा भएको विस्तार, थप आयोजनाको सञ्चालन र बिजुली निर्यातमा आएको वृद्धिले यो क्षेत्रलाई यसरी माथि उठाएको विश्लेषकहरूको अनुमान छ।
यही क्षेत्रले २०७९/८० को पहिलो त्रैमासिकमा ३७ प्रतिशत र तेस्रो त्रैमासिकमा -२१.९ प्रतिशत पनि देखाएको थियो। यसको अर्थ यो क्षेत्रको वृद्धिदर अत्यन्त उतारचढाव हुने प्रकृतिको छ। निरन्तरता कायम रहन्छ भन्ने ग्यारेन्टी छैन।
बैंकिङ र बिमा क्षेत्र दोस्रो सर्वाधिक वृद्धिदरसहित १२.५१ प्रतिशतमा आयो। अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा यो क्षेत्र ३.४ प्रतिशतमा मात्र थियो। निक्षेप संकलन र ऋण प्रवाहमा आएको गतिशीलता, र निजी जीवन बिमा प्रिमियम संकलनमा आएको वृद्धिलाई यसको कारण मानिएको छ। यस क्षेत्रको मूल्य रु. ३७ हजार ३४४ करोडबाट ४२ हजार १६ करोड रूपैयाँ पुगेको छ।
वित्तीय क्षेत्र २०७८/७९ मा +१८.९% देखि २०७९/८० को चौथोमा -१७.३% सम्म झरेको थियो। अहिले फेरि दोहोरो अंकमा फर्किनु भनेको बैंकिङ प्रणाली स्थिरीकरणको सङ्केत हो। अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर २.२१ प्रतिशत रह्यो। यसमा कमजोर धान बाली उत्पादनले नकारात्मक प्रभाव पारेको भए पनि पशुपन्छी, तरकारी बाली र फलफूलमा आएको सामान्य वृद्धिले समग्र कृषि क्षेत्रलाई सकारात्मक राख्यो।
मौसमी समायोजित त्रैमासिक विवरण हेर्दा पहिलो त्रैमासिकको -२.२ प्रतिशतबाट दोस्रोमा +२.४८ प्रतिशत पुग्नु उत्साहजनक सङ्केत हो।
समायोजित त्रैमासिक वृद्धिदरमा यातायात तथा भण्डारण क्षेत्रले ६.२० प्रतिशत सर्वाधिक वृद्धि दर्ता गर्यो। पर्यटन आगमनसँग जोडिएको यात्री सेवा, ढुवानी र भण्डारण सेवामा भएको विस्तारले यसलाई टेवा दिएको देखिन्छ।
निर्माण क्षेत्रः नकारात्मक, सावधानी जरुरी
निर्माण क्षेत्र इयर टु इयरमा २.९ प्रतिशत सकारात्मक देखिए पनि मौसमी समायोजितमा -०.५९ प्रतिशत ऋणात्मक रह्यो। निर्माण सामग्रीको आयातमा आएको कमी र पूँजीगत खर्चको ढिलाइले यो क्षेत्रलाई थिचेको अनुमान गर्न सकिन्छ।
- २०७९/८०: –१.०% (संकुचन — आर्थिक संकटको उचाइ)
- २०८०/८१: +४.८% (शक्तिशाली पुनरुत्थान)
- २०८१/८२: +३.८% (सामान्यीकरण)
- २०८२/८३: +४.०५% (क्रमिक सुधार)
खानी तथा उत्खनन् क्षेत्रको मौसमी समायोजित वृद्धिदर -०.८५ प्रतिशत (ऋणात्मक) रह्यो। पानी आपूर्ति, ढल, फोहर व्यवस्थापन क्षेत्रको वृद्धि ०.५५ प्रतिशतमात्र- जुन सबैभन्दा कम हो। शिक्षा (१.१६%) र सार्वजनिक प्रशासन (१.११%) पनि सुस्त छन्।