काठमाडौं। चितवनको रत्ननगरमा रहेको किसान दाना उद्योगको व्यापारमा उल्लेख्य वृद्धि भए पनि वित्तीय जोखिम बढेको छ। कुखुराको दाना उत्पादक तथा अण्डाको व्यापार गर्ने उद्योगको ऋण रेटिङमा क्रेडिट इक्रा नेपालले ऋणको सीमा घटाउँदै जोखिमपूर्ण रेटिङ दिएको हो।
पछिल्लो पटक गराएको रेटिङमा इक्राले उद्योगलाई १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ ऋण सीमा निर्धारण गरेको थियो। तर, अहिले गराएको रेटिङमा ऋण सीमा घटाएर १ अर्ब २१ करोड ४३ लाख रुपैयाँ कामय गर्दै रेटिङसमेत ‘डाउनग्रेड’ गरेको छ।
इक्राले उद्योगको ९८ करोड ९३ लाख रुपैयाँ दीर्घकालीन कर्जामा ‘एनबीबी माइनस’लाई डाउनग्रेड गरेर ‘एलबी प्लस’ कायम गरेको छ। उद्योगको सञ्चालन नाफा र ऋणभार कम भए पनि व्यवसायिक जोखिम र वित्तीय अवस्थालाई मध्य नजर गर्दै रेटिङ घटाइएको रिपोर्टमा उल्लेख छ। घट्नुको मुख्य अर्थ उद्योगको ऋण तिर्न सक्ने क्षमतामा पहिलेको तुलनामा बढी जोखिम देखिनु हो।
उद्योगको वित्तीय अवस्थामा सबैभन्दा ठूलो चुनौती ऋणको व्यवस्थापन देखिएको छ। रिपोर्टअनुसार उद्योगको ऋण तिर्ने क्षमता सूचक घटेर ०.९ गुणामा झरेको छ। सामान्यतया यो सूचक एकभन्दा माथि हुनुलाई राम्रो मानिन्छ। एकभन्दा कम हुनुको अर्थ कम्पनीले आफ्नो नियमित कमाइबाट बैंकको किस्ता र ब्याज तिर्न गाह्रो भइरहेको छ भन्ने बुझिन्छ। हाल उद्योगले समूहका अन्य कम्पनीबाट पैसा व्यवस्थापन गरेर बैंकको दायित्व पूरा गरिरहेको छ।
त्यसैगरी, उद्योगले बैंकबाट पाएको ऋणको सीमाभन्दा करिब ११५ प्रतिशत बढी रकम उपयोग गरेको छ। यसले उद्योगमा तरलताको गम्भीर चाप रहेको देखाउँछ।
कम्पनीको व्यापारिक ग्राफ हेर्दा यसले निकै राम्रो प्रगति गरेको देखिन्छ। आर्थिक वर्ष २०२२ मा दुई अर्ब ३८ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले २०२५ मा आइपुग्दा ३ अर्ब २४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। चालू आर्थिक वर्ष २०८२/८३ (२०२६) को पहिलो तीन महिनामा मात्रै कम्पनीले १ अर्ब रुपैयाँको व्यापार गरिसकेको छ, जसले यो वर्ष कम्पनीको आम्दानी अझै बढ्ने संकेत गर्छ।
तर, आम्दानी बढे पनि कम्पनीको नाफा मार्जिन भने निरन्तर ओरालो लागेको छ। आर्थिक वर्ष २०२३ मा ६.२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन २०२५ मा घटेर ३.१ प्रतिशतमा सीमित भएको छ। दाना उत्पादनका लागि आवश्यक कच्चा पदार्थ (मकै र भटमास)को मूल्यमा भएको वृद्धि र बजारमा रहेको तीव्र प्रतिस्पर्धाका कारण कम्पनीले आफ्नो उत्पादनको मूल्य बढाउन नसक्दा नाफामा दबाब परेको हो।
सन् २०१२ मा स्थापना भएको यो उद्योगमा बिनोद पोखरेलको २३ प्रतिशत, हेमराज बादल १४ प्रतिशत, विपिन पोखरेल १४ प्रतिशत, रघुनाग भट्टको ४ प्रतिशत र हिमालय पौडेलको ४ प्रतिशत सेयर लगानी छ। उद्योगको एउटा बलियो पक्ष भनेको यसको एकीकृत व्यापार मोडल हो।
उद्योगको दौन्ने एग्रो फार्ममा करिब २९ प्रतिशत सेयर छ। दौन्ने एग्रोले किसान दाना उद्योगबाट दाना किन्छ र किसान दानाले दौन्ने एग्रोबाट अण्डा किनेर व्यापार गर्छ। यो आपसी समन्वयले कम्पनीको व्यापारलाई सुरक्षित बनाउन मद्दत पुर्याएको रिपोर्टमा उल्लेख छ।