काठमाडौं। नेपाल राष्ट्र बैंकले औद्योगिक र सेवा क्षेत्रका उद्योग व्यवसायीलाई विदेशी मुद्रामै ऋण पाइने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले कच्चा पदार्थ र मेसिन आयातका लागि उद्योग र ट्राभल एजेन्सीलाई विदेशी मुद्रामै ऋण पाइने व्यवस्था गरेको हो।
केन्द्रीय बैंकले विदेशी व्यवस्थापन विभागको एकीकृत परिपत्रमा संशोधन गर्दै उद्योगहरू र पर्यटनसँग सम्बन्धित एजेन्सीहरूलाई लक्षित गरी 'परिवर्त्य विदेशी मुद्रा' मा अल्पकालीन ऋण (चालूपुँजी कर्जा) सुविधा उपलब्ध गराउने बाटो खोलेको छ। राष्ट्र बैंकको यो कदमले आयातमा आधारित व्यापारभन्दा पनि उत्पादनमूलक उद्योगहरूलाई प्राथमिकता दिएको छ।
नयाँ व्यवस्थाअनुसार अब उद्योगहरूले आफ्नै प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, मेसिनरी प्लान्ट र अन्य यन्त्र उपकरण आयात गर्दा बैंकहरूबाट विदेशी मुद्रामा ऋण लिन सक्नेछन्। यस्तो ऋण 'दृष्टिगत प्रतितपत्र' को भुक्तानी गर्ने प्रयोजनका लागि अधिकतम ९० दिनसम्मका लागि उपलब्ध हुनेछ। यसको ब्याजदर बैंक आफैँले निर्धारण गर्न सक्नेछन्।
पर्यटन र कार्गो क्षेत्रलाई पनि विशेष सुविधा
ट्राभल, टुर, टिकेटिङ, एयरलाइन्स र कार्गो एजेन्सीहरूले पनि अब विदेशी मुद्रामा अल्पकालीन वा चालू पुँजी कर्जा पाउने भएका छन्। संस्थागत ग्राहकलाई उधारोमा टिकट वा कार्गो बिक्री गर्ने यस्ता एजेन्सीहरूले विदेशी वायुसेवा कम्पनीलाई भुक्तानी गर्ने प्रयोजनका लागि मात्र यो ऋण उपयोग गर्न पाउनेछन्। यस्तो ऋणको सही सदुपयोग भएरनभएको यकीन गर्ने जिम्मेवारी सम्बन्धित बैंकलाई नै दिइएको छ।
विदेशी मुद्राको ऋणलाई नेपाली रुपैयाँमा बदल्न सकिने
राष्ट्र बैंकले ऋणीहरूका लागि अर्को एउटा महत्वपूर्ण 'एक्जिट' विकल्प पनि दिएको छ। यदि कुनै ऋणीले विदेशी मुद्रामा लिएको ऋणलाई विदेशी मुद्रामै कायम राख्न नचाहेमा बैंकको सहमतिमा त्यसलाई प्रचलित विनिमय दरका आधारमा नेपाली रुपैयाँमा परिणत गर्न सकिनेछ। तर, यस्तो ऋणको भुक्तानी अवधि थप्न पाइने छैन भने, परिवर्तन पछिको ब्याजदर दुई पक्षको सहमतिमा प्रचलित नियमअनुसार कायम गर्नुपर्नेछ।
जोखिमको जिम्मेवारी बैंककै
यो नयाँ व्यवस्था अन्तर्गत गरिने कारोबारहरूबाट सिर्जना हुन सक्ने विनिमय दरको जोखिम र अन्य सबै दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्था आफैँले व्यहोर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।