काठमाडौं। नेपालको व्यापारिक क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेको सारिया ग्रुपले उत्पादनमूलक क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै झापामा अत्याधुनिक इँटा उद्योग सञ्चालनमा ल्याएको छ। सन् २०१९ मा दर्ता भएको ‘सारिया ग्रिन ब्रिक्स इन्डस्ट्रिज प्राइभेट लिमिटेड’ मार्फत यस समूहले ६५ करोड ६७ लाख १० हजार रुपैयाँको लगानीमा नेपालकै ठूलो र आधुनिक प्रविधिको इँटा कारखाना सञ्चालन गरेको हो।
कम्पनीले चिनियाँ प्रविधि प्रयोग गरी ठूलो परिमाणमा इँटा उत्पादन सुरु गरिसकेको छ। तर, सुरुवाती चरणमा आयोजनाको सञ्चालन स्थिर हुन समय लागेका कारण कम्पनीले अहिले बैंकको ब्याज र ऋणको किस्ता तिर्ने क्षमतामा भने दबाब झेलिरहेको छ। सोही कारण कम्पनीले पुरानो ऋण नविकरणका लागि क्रेडिट रेटिङ गराएको थियो।
जसमा रेटिङ एजेनसी इन्फोमेरिक्स नेपालले कम्पनीको ६५ करोड ६७ लाख १० हजार रुपैयाँ बराबरको बैंक ऋणका लागि पुराना रेटिङहरूलाई नै यथावत राखेको हो। जसअनुसार ५४ करोड ६७ लाखको दीर्घकालीन ऋणका लागि ‘बीबी माइनस’ र ११ करोडको अल्पकालीन ऋणका लागि ‘ए–फोर’ रेटिङ प्रदान गरेको छ।
आर्थिक वर्ष २०२५ मा उद्योगले जम्मा ९० लाख रुपैयाँको मात्र व्यापार गरेको छ, जुन परीक्षण उत्पादनको आम्दानी हो। व्यावसायिक उत्पादन सुरु हुन ढिलाइ भएकाले कम्पनीको सञ्चालन नाफा र ब्याज तिर्ने क्षमता हाल ऋणात्मक रहेको रेटिङ रिपोर्टमा उल्लेख छ। यसको अर्थ उद्योगको हालको कमाइले बैंकको ब्याज र किस्ता धान्न कठिन भइरहेको छ र कम्पनीले आफ्नै अन्य स्रोतबाट वित्तीय दायित्व पुरा गरिरहेको देखिन्छ।
अबका दिनमा पूर्ण क्षमतामा इँटा उत्पादन गरी बजारमा खपत बढाउन सकेमा मात्रै सारिया ग्रुपले गरेको यो ठूलो लगानीले प्रतिफल दिने र बैंकको दायित्व सहजै पुरा हुने देखिन्छ। कम्पनीको ऋण र इक्विटीको अनुपात २.५८ गुणा र कुल बाह्य दायित्व र नेटवर्थको अनुपात २.८२ गुणा रहेको छ, जसलाई मध्यम स्तरको वित्तीय भार मानिन्छ। कोइला जस्ता मुख्य कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्ने हुँदा मूल्यमा हुने उतारचढावले पनि ग्रुपको नाफा मार्जिनलाई प्रभाव पारिरहेको छ।
कैलाश चन्द्र सरियाको नेतृत्वमा रहेको सारिया ग्रुप नेपालको ट्रेडिङ (व्यापार) क्षेत्रमा स्थापित नाम हो। व्यापारिक क्षेत्रमा बलियो सञ्जाल भए पनि यो समूहले उत्पादनमूलक उद्योगमा भने पहिलो पटक यति ठूलो स्केलमा लगानी गरेको हो। झापाको मेचीनगरमा स्थापित यो उद्योग भद्रपुर भन्सारबाट मात्र ५ किलोमिटरको दूरीमा रहेकाले कच्चा पदार्थ आयात र ढुवानीका हिसाबले यो ग्रुपलाई रणनीतिक लाभ मिलेको छ। यद्यपि, उद्योगले लक्ष्य अनुसार सन् २०२५ को फेब्रुअरीमै सञ्चालनमा आउनुपर्नेमा केही ढिलो गरी सेप्टेम्बरदेखि मात्रै पूर्ण उत्पादन थालेकाले सुरुवाती आम्दानीमा केही संकुचन देखिएको छ।
उत्पादनका हिसाबले सारिया ग्रिन ब्रिक्सले नेपालमा प्रचलित पुरानो प्रविधिलाई विस्थापित गर्दै चीनको अत्याधुनिक ‘टनेल क्लिन’ प्रविधि भित्र्याएको छ। यो प्रविधि पूर्ण रूपमा स्वचालित छ र यसले वर्षैभरि निरन्तर इँटा उत्पादन गर्न सक्छ। उद्योगको वार्षिक उत्पादन क्षमता २ करोड थान इँटा रहेको छ, जुन नेपालका परम्परागत उद्योगहरूको तुलनामा निकै धेरै हो। वातावरणमैत्री उत्पादनलाई प्राथमिकता दिँदै कम्पनीले धुलो नियन्त्रण गर्ने स्वचालित प्रणाली र पानी छर्कने संयन्त्रसहितको ठाडो चिम्नी जडान गरेको छ।