काठमाडौं। नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच भेटवार्ता भएको छ। अर्थमन्त्रीमा वाग्ले नियुक्त भएपछि पहिलो पटक बैंकरले बैंकिङ क्षेत्रमा विद्यमान समस्याबारे जानकारी गराउन उनलाई भेटेका हुन्।
आज अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरलाई आग्रह गरेका थिए।
बैंकर्स संघ पदाधिकारीले हाल बैंकिङ क्षेत्रमा देखिएका विभिन्न जटिलताबारे अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुधारका माग अघि सारेका छन्। उनीहरुले खराब कर्जाको व्यवस्थालाई पुनरवलोकन गर्नुपर्ने, गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि स्थानीय तहबाट सिफारिस लिन सहजीकरण तथा बक्यौता बाँकी आम्दानीबाट कर तिर्नुपर्ने व्यवस्था सहजीकरण तत्काल सम्बोधन हुनुपर्ने माग राखेका छन्।
बैंकहरुले यी व्यवस्थाका कारणा वित्तीय व्यवस्थापनमा दबाब बढेको भन्दै नीतिगत सुधार आवश्यक रहेको धारणा राखेका थिए।
अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रका व्यवहारिक समस्या समाधान गर्न सरकार सकारात्मक रहेको जनाउँदै प्रि–बजेटको समयमा बैंकहरुसँग पुनः छलफल गरी थप सुझाव लिने आश्वासन दिएका छन्। नीतिगत सहजीकरणका लागि आफू तयार रहेको बैंकरलाई आश्वासन दिएका छन्।
भेटमा एनबीए अध्यक्ष सन्तोष कोइराला, उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, निश्चलराज पाण्डे, सञ्जीव मानन्धर, सुन्दरप्रसाद कँडेल, रामचन्द्र खनाल, सुदेश खालिङ, तिलकराज पाण्डेयलगायत पदाधिकारी सहभागी थिए।