काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को पदाधिकारीहरू कार्यालयमै घेराबन्दस्मा परेका छन्। उच्च अदालत पाटनको आदेशपछि निर्वाचन कार्यक्रम स्थगित गरिएकोमा आक्रोशित जिल्ला तथा नगरका सदस्यहरूले महासंघको कार्यालय घेराउ गरेका हुन्।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले सदस्यता सम्बन्धी विवाद नसुल्झिएसम्म साधारण सभा नगर्न आदेश दिएपछि चैत २९ र ३० गतेका लागि तय गरिएको वार्षिक साधारण सभा र निर्वाचन महासंघले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित गरिसकेको छ।
सदस्यहरूले पदाधिकारीहरूले यो मुद्दालाई रणनीतिक रूपमा प्रयोग गरी कार्यकाल लम्ब्याउन खोजेको आरोप लगाउँदै उनीहरूको विरोध सुरु गरेका हुन्। महासंघको केन्द्रीय कार्यालयमा पदाधिकारीहरूको बैठक भित्र चलिरहँदा बाहिरबाट सयौँको संख्यामा आएका जिल्ला र नगरका प्रतिनिधिहरूले घेराउ गरेका छन्। ‘अदालतको आदेशलाई देखाएर चुनाव सार्न पाइँदैन, सदस्यता विवाद तत्काल टुंग्याएर निर्धारित समयमै चुनाव गर’ भन्दै सदस्यहरूले चर्को नाराबाजी गरिरहेका छन्।
घेराउमा उत्रिएका सदस्यहरूले पदाधिकारीहरूलाई ‘निर्णय निकालेर मात्र बाहिर निस्किन’ भन्दै चेतावनी दिएका छन्। उनीहरूले आजै निर्वाचनको नयाँ र सुनिश्चित कार्यतालिका नआएसम्म घेराउ जारी राख्ने बताएका छन्। उनीहरूले भित्र बैठक बसिरहेका पदाधिकारीहरूलाई सम्बोधन गर्दै यो समस्याको निकास आजै ननिक्लिएसम्म टेकुबाट कोही पनि बाहिर जान नपाउने उद्घोष गरेका छन्।
अदालतले सदस्यता विवाद मिलाएर मात्र अघि बढ्न भनेको छ, तर नेतृत्वले ठोस पहल नगरेको र निर्वाचन अनिश्चितकालका लागि धकेल्न खोजेको भन्दै सदस्यहरू आक्रोशित भएका हुन्। २८ गतेभित्रै निर्वाचन सम्पन्न हुनुपर्ने उनीहरूको मुख्य माग रहेको छ।अदालतले साधारण सभामा सहभागी भएको संस्थाको सदस्यता विवाद नटुङ्ग्याई सभा गर्दा निवेदकलाई अपूरणीय क्षति पुग्ने भन्दै अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम रोक्न आदेश दिएको थियो।
सोही आदेशको सम्मान गर्दै निर्वाचन समितिले चैत २९ र ३० का लागि तय गरिएका सबै कार्यक्रम स्थगित भएको सूचना जारी गरेपछि देशभरबाट आएका प्रतिनिधिहरूले नेतृत्वमाथि समयमै चुनाव गराउन तीव्र दबाब दिइरहेका छन्। नेतृत्वले कानुनी जटिलता फुकाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने सुनिश्चितता नगरेसम्म घेराउ जारी राख्ने सदस्यहरूको अडान छ।