काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ मा भौतिक पूर्वाधा क्षेत्रमा १ खर्ब ३८ अर्ब बजेट विनियोज गरेको छ । सडक, पुल, रेल, सुरुङमार्ग निर्माणका लागि सरकारले उल्लेखित बजेट विनियोजन गरेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।
बजेट प्रस्तुत गर्दै उनल राष्ट्रिय राजमार्ग र रणनीतिक सडक निर्माणमा प्राथमिकता दिएको बताए । मध्यपहाडी क्षेत्रको पुष्पलाल राजमार्गको बाँकी काम आगामी तीन वर्षभित्र पूरा गरिने खतिवडाले बताए । त्यसका लागि आगामी आर्थिक वर्षमा ८ अर्ब २७ करोड बजेट विनियोजन गरिएको छ ।
लामो समयदेखि अधुरो तराइका जिल्ला जोड्ने हुलाकी राजमार्ग पनि आगामी तीन वर्षभित्र पूरा गरिने सरकारको लक्ष्य छ । त्यसका लागि आगामी आवमा ७ अर्ब १ करोड बजेट छुट्याएको खतिवडाले बताए ।
निर्माणधीन मदन भण्डारी राजमार्ग आगामी पाँच वर्षभित्र सम्पन्न गरिने भएको छ । त्यसका लागि आउँदो वर्ष ३ अर्ब ७ करोड बजेट छुट्याएको छ ।
उत्तर र दक्षिण जोड्ने रणनीतिक महत्वलाइ दृष्टिगत गरी क्रमशः डेडिकेटेड र डबल लेनमा निर्माण र स्तरोन्नती गरिनेछ ।
मेची, तमोर, कोशी, तामाकोशी, त्रिशुली, कालीगण्डकी, भेरी, महाकाली करिडोर आयोजना तथा राजमार्गको निर्माण तथा विस्तारलाइ निरन्तरता दिइएको छ । त्यसका लागि ७ अर्ब १६ करोड बजेट विनियोजन गरिएको छ ।
विपी राजमार्ग, मिर्चैया–कटारी–घुर्मी–सर्लेरी सडक, राप्ती राजमार्ग, कर्णाली राजमार्गको सुर्खेत जुम्ला खण्ड र दैलेख, घोराही, थवाङ, मुसिकोट सहिद मार्गको स्तरोन्नतीका लागि बजेट छुट्याएको छ ।
आगामी वर्ष जिल्ला सदरमुकामलाइ सडक सञ्जालमा जोड्न कर्णाली करिडोरलाइ तीव्रता दिइनेछ । हुम्ला सदरमुकामसम्म सडक पुर्याउन र सवै जिल्लामा सडक पुर्याउन ५ अर्ब ५७ करोड बजेट छुट्याएको छ ।
त्यस्तै, प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा बढि स्थानीय तह जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम कार्यान्वयन गर्न ३ अर्ब ३० करोड बजेट छुट्याएको छ ।
तराइ मधेसको समृद्धि सँग जोडिएको सडक पूर्वाधार विशेष कार्यक्रमका लागि २ अर्ब २६ करोड बजेट छुट्याएको छ । त्यस्तै, काठमाडौं—निजगढ द्रुतमार्गका लागि आगामी तीन बर्ष भित्र सम्पन्न गर्ने गरी आगामी वर्ष ८ अर्ब ९३ करोड छुट्याएको छ ।
नौविसे सुरुङमार्ग र बुटवलको सिद्धबाबा सुरुङमार्ग निर्माण सुरु गरिने छ । सुरुङमार्गका लागि ६ अर्ब ४२ करोड बजेट छुट्याएको छ । निर्माण सम्पन्न भइ आरामदायी र स्तरोन्नती गर्न सडक बनाउन १६ अर्ब २० करोड बजेट छुट्याएको छ ।
सडक राजमार्गमा २१० पुल सम्पन्न गर्न १० अर्ब ९१ करोड बजेट छुट्याएको छ । पूर्व—पश्चिम विद्युत्तीय रेलमार्ग र रेल सञ्चालन गर्न ८ अर्ब ६६ करोड बजेट विनियोजन गरिएको छ ।