काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को समन्वयमा हाइब्रिड सवारीसाधनको मेकानिजम, सुरक्षा तथा मर्मतसम्भारसम्बन्धी प्राविधिक तालिम सम्पन्न भएको छ।
नाइमाको आयोजनामा सम्पन्न उक्त तालिम विश्वव्यापी अटोमोबाइल ब्रान्ड टोयोटाका नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेटस प्रालिको प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो।
तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थीहरू, ट्राफिक चालक तथा अन्य प्राविधिक गरी २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूलाई हाइब्रिड सवारीसाधनको कार्यप्रणाली, सुरक्षा मापदण्ड तथा मर्मतसम्भारसम्बन्धी सैद्धान्तिक तथा प्रायोगिक तालिम प्रदान गरिएको थियो। सहभागीहरूले यसअघि गत चैतमा लक्ष्मी हुन्डाइमा आयोजित विद्युतिय सवारीसाधनसम्बन्धी तीनदिने तालिममा पनि सहभागिता जनाएका थिए।
नाइमाका अनुसार, विद्युतिय सवारीदेखि हाइब्रिड प्रविधिसम्मको ज्ञानलाई चरणबद्ध रूपमा जोड्दै सहभागीहरूको समग्र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो तालिम शृङ्खला सञ्चालन गरिएको हो।
कार्यक्रममा बोल्दै नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्राविधिक शिक्षा र सीप विकासमा यस्ता तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनले माग र उपलब्ध स्रोतका आधारमा यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने जानकारी दिए।
त्यसैगरी,सिटिभिटीका उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए। नेपालको भौगोलिक विविधताका कारण यस्ता प्रविधिको सान्दर्भिकता बढ्दै गएको उनको भनाइ थियो।
बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले हालै सम्पन्न विद्युतिय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई व्यावहारिक सिकाइमा सहयोग पुगेको उल्लेख गरे।
समापन सत्रमा बैद्य अर्गनाइजेशन अफ इन्ड्रष्टिज अफ ट्रेडिङ हाउसेसका निर्देशक सूर्यांश वैद्यले यस्ता तालिमले पेशागत विकास र नवप्रवर्तनमा टेवा पुर्याउने बताए। उनले हाइब्रिड सवारीलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यससम्बन्धी सीप विकास आवश्यक रहेको धारणा राखे।
तालिम शृङ्खलाअन्तर्गत हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूबाट प्रदान गरिएको थियो भने विद्युतिय सवारीसाधनसम्बन्धी तालिम लक्ष्मी हुन्डाईका विशेषज्ञहरूले सञ्चालन गरेका थिए।
नाइमाले प्राविधिक समिति र सचिवालयमार्फत क्षमता अभिवृद्धि तथा नीतिगत संवादलाई प्राथमिकता दिँदै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।