पर्सा। वीरगञ्ज नाका हुँदै चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँको वस्तु तथा सामान आयात भएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ८० अर्ब ४४ करोड रुपैयाँ अर्थात् १३ प्रतिशत बढी आयात भएको हो।
जबकि गत आवको ९ महिनामा ६ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालू आवमा यो नाका हुँदै हुने आयातमा बढोत्तरी भएको बताए।
यो नाका हुँदै चालू आवको ९ महिनामा एक खर्ब ४८ अर्ब १६ करोड रुपैयाँको पाँच थरीका पेट्रोलियम आयात भएको छ । जबकि गत आवको सोही अवधिमा १ खर्ब ४० अर्ब १० करोड रुपैयाँको पेट्रोलियम आयात भएको थियो।
चालू आवको ९ महिनामा ६२ अर्ब २६ करोड रुपैयाँ पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। गत आवको सोही अवधिमा भने ५५ अर्ब ९ करोड रुपैयाँका फलाम तथा फलामबाट बनेका सामान भित्रिएको थियो।
चालू आवको ९ महिनामा ५० अर्ब ४० करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भएको छ। जबकि गत आवको सोही अवधिमा ३८ अर्ब १५ करोड रुपैयाँको भटमासको कच्चा तेल आयात भयो।
चालू आवको ९ महिनामा ४९ अर्ब १३ करोड रुपैयाँ पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएको छ। जबकि गत आवको ९ महिनामा भने ४० अर्ब ५७ करोड रुपैयाँको मेसिनरी तथा पार्टपुर्जा भित्रिएको थियो।
चालू आवको ९ महिनामा ३४ अर्ब १९ करोड रुपैयाँ पर्ने इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा भित्रिएको छ भने गत आवको सोही अवधिमा ३० अर्ब १४ करोड मूल्यका इलेक्ट्रिक मेसिनरी उपकरण र तिनका पार्टपुर्जा आयात भएको थियो।
कार्यालयले चालू आवको ९ महिनामा एक खर्ब ७७ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।–रासस