काठमाडौं। पछिल्लो समय इन्धनको मूल्य निरन्तर उकालो लागेसँगै दुई पांग्रे विद्युतीय सवारी (ईभी)को आयात तथा बिक्रीमा उल्लेख्य वृद्धि भएको छ। उपभोक्ताहरू वैकल्पिक साधनतर्फ आकर्षित हुन थालेसँगै दुई पांग्रे ईभीको आयात तथा बिक्रीमा उल्लेख्य वृद्धि भएको हो।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउनदेखि चैत)सम्ममा ८० करोड रुपैयाँ बराबरको ८ हजार ३२५ युनिट ईभी स्कुटर आयात भएका थिए। जुन आयातबाट सरकारले २८ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको थियो। विगतको तुलनामा यस वर्ष दोब्बर बढीले दुई पांग्रे ईभीको आयात बढेको छ।
चालू आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउनदेखि चैत)सम्ममा १ अर्ब ५३ करोड ४७ लाख रुपैयाँ बराबरको १६ हजार १९७ युनिट ईभी स्कुटर आयात भएको छ। उक्त आयातबाट सरकारले ५५ करोड ५७ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गत वर्षको तुलनामा यस वर्ष ९४.५६ प्रतिशतले दुई पांग्रे ईभीको आयात बढेको छ।
विगतमा ईभी स्कुटरप्रति उपभोक्ताको आकर्षण निकै कम थियो। केही समयअघिसम्म ‘रेन्ज एन्जाइटी,’ ब्याट्रीको वारेन्टी र पर्याप्त चार्जिङ पूर्वाधारको अभावका कारण लामो समयदेखि नेपालमा ईभी स्कुटर आयात भए पनि यसको बिक्री सुस्त थियो। दुई पांग्रे ईभीप्रति उपभोक्ता रूची सीमित थियो।
विगतको तुलनामा धेरै स्कुटर भित्रिँदा पनि उपभोक्ताले सहज रुपमा किन्न पाउने स्थिति नरहेको बताउँदै आएका छन्।
उपभोक्ताको रूची कम भएका कारण वर्षौंसम्म बिक्री हुन सकेका थिएनन्। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धिसँगै नेपाली बजारमा पेट्रोलको मूल्य निरन्तर बढ्न थालेकाले उपभोक्ता वैकल्पिक सवारीतर्फ आकर्षित भएका हुन्। जसका कारण दुई पांग्रे ब्रान्डका स्टक सकिएकाले यसको आयात बढेको व्यवसायीहरुको भनाइ छ।
विगतको तुलनामा धेरै स्कुटर भित्रिँदा पनि उपभोक्ताले सहज रुपमा किन्न पाउने स्थिति नरहेको बताउँदै आएका छन्। एक्कासी उपभोक्ताबाट ईभी स्कुटरको माग बढेपछि सहज रुपमा उपलब्ध गराउन धौ-धौ परेको एथर स्कुटरका बिक्रेता वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यको भनाइ छ। काठमाडौंलगायत पोखरा र चितवनमा धेरै माग रहँदा पनि उपलब्ध गराउन ढिलाई भएको उनले बताए।
फागुन महिनामा १ हजार २२५ युनिट ईभी स्कुटर आयत भएकोमा चैत महिनामा दोब्बरभन्दा धेरै आयात भएको हो। तथ्यांकअनुसार चैत महिनामा मात्र ३ हजार ३४० युनिट ईभी स्कुटर नेपाल भित्रिएका छन्।
पछिल्लो पाँच वर्षको ईभी स्कुटरको आयात
| आर्थिक वर्ष |
बाइक तथा स्कुटरको संख्या |
| २०७७/७८ |
२२६५ युनिट |
| २०७८/७९ |
३६१० युनिट |
| २०७९/८० |
७१५५ युनिट |
| २०८०/८१ |
७७४७ युनिट |
| २०८१/८२ |
११३२० युनिट |
| २०८२/८३ हालसम्म |
१६१९७ युनिट |
नेपाली बजारमा दुई पांग्रे ईभी स्कुटर उपलब्ध भएको वर्षौं बिते पनि उपभोक्ता तान्न सकेको थिएन। वर्षाैंसम्म सोरुममा थन्किएका दुई पांग्रे ईभी मध्यपूर्वको तनावपछि धमाधम बिक्री हुन थालेको छ। वर्षौंदेखि स्टकमा रहेका ईभी स्कुटर आउट अफ स्टक भएपछि आयात उल्लेख्य रुपमा बढेको हो।
शोरुममा ग्राहकको घुइँचो लाग्न थालेको छ। स्थापित ब्राण्डका इलेक्ट्रिक स्कुटर डेलिभरी पाउन १ महिनासम्म कुनुपर्ने अवस्था आएको छ।
चार पांग्रेमा ईभीको संख्या अधिक भए पनि दुई पांग्रेमा पेट्रोलकै दबदबा छ। मोटरसाइकल र स्कुटर चढ्ने उपभोक्ताको रोजाइ पेट्रोलवाला नै छ। चार पांग्रे ईभीको हिस्सा ७५ प्रतिशत पुग्दा दुई पांग्रेमा ईभीको हिस्सा करिब ५ प्रतिशतमात्रै छ।
नेपालीहरु इलेक्ट्रिक स्कुटर तथा बाइकमा आकर्षित हुन सकेका छैनन्। तर, पछिल्लो डेढ-दुई महिनायता पेट्रोलको मूल्य ३५ प्रतिशतभन्दा धेरै बढेपछि दुई पांग्रे ईभीमा ग्राहकको चासो बढेको छ।
अहिले मुख्य चल्तीका ब्राण्डका इलेक्ट्रिक स्कुटरको माग उच्च छ। शोरुममा ग्राहकको घुइँचो लाग्न थालेको छ। स्थापित ब्राण्डका इलेक्ट्रिक स्कुटर डेलिभरी पाउन १ महिनासम्म कुनुपर्ने अवस्था आएको छ।
अहिले नेपाली बजारमा बिक्री भइरहेका याडिया, एथर, बजाज, टेल्जी, टिभिएसलगायत ब्राण्डका शोरुममा दैनिक जसो ग्राहकको भिड देखिन्छ। चल्तीका ब्राण्डका स्कुटर सोल्ड आउट हुँदा ग्राहकहरुले स्कुटर महिनौँसम्म कुर्नुपर्ने अवस्था आएको व्यवसायीहरुको भनाइ छ।
यसअघि ईभी स्कुटरको माग सुस्त हुँदा बिक्रेताहरूले सीमित संख्यामा मात्र स्टक ल्याएर राखेका थिए। अहिले एकैपटक ह्वात्तै माग बढेपछि माग धान्न कठिन भएको हो।