काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्ससहित विभिन्न आठवटा बीमा कम्पनीहरुमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ। विभागले ती कम्पनीको संस्थापक सेयर खरिद गर्दा तिरेको अतिरिक्त शुल्क (प्रिमियम) को स्रोतमाथि शंका गर्दै विवरण माग गरेको हो।
विभागले आज सूचना जारी गर्दै अनुसन्धानको क्रममा अध्ययन प्रयोजनका लागि विवरण आवश्यक परेको जनाएको छ। विभागको अनुसन्धान घेरामा हिमालयन रि–इन्स्योरेन्ससहित सात वटा नयाँ लघु बिमा (माइक्रो इन्स्योरेन्स) कम्पनी रहेका छन्।
विभागको अनुसन्धानमा नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स, ट्रस्ट माइक्रो इन्स्योरेन्स र हिमालयन रि–इन्स्योरेन्स रहेका छन्।
यी कम्पनीले नेपाल बिमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा संस्थापक सेयर खरिद गर्दा चुक्ता पुँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) बुझाएका थिए। विभिन्न व्यक्ति तथा संस्थाले बैंक खातामा बुझाएको उक्त प्रिमियम बापतको रकम कसको नामबाट, कुन बैंकको कुन खातामा, कति रकम जम्मा गरिएको हो भन्ने विस्तृत विवरण विभागले मागेको छ।
विशेषगरी संस्थापक सेयर खरिद गर्दा प्रयोग भएको पैसाको वास्तविक स्रोत के हो र त्यसमा अवैध धनको प्रयोग भएको छ कि छैन भन्ने कोणबाट विभागले अनुसन्धान अगाडि बढाएको बुझिएको छ। विभागले खाता नम्बर, बैंकको नाम र जम्मा गरेको प्रयोजन स्पष्ट खुल्ने गरी विवरण पेस गर्न निर्देशन दिएको छ।
विभागले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र माग गरिएका सबै विवरणहरु बुझाउन सम्बन्धित सबै व्यक्ति तथा संस्थालाई आग्रह गरेको छ। अनुसन्धान कार्यमा सहयोग नगरे वा विवरण लुकाए कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।