काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगामी चीन भ्रमणले इरानसँग सम्बन्धित सैन्य र कूटनीतिक रणनीतिमा प्रत्यक्ष प्रभाव पारिरहेको सङ्केत देखिएको छ। विभिन्न अमेरिकी सञ्चारमाध्यमका रिपोर्टअनुसार बेइजिङ भ्रमणलाई प्राथमिकतामा राख्दै ह्वाइट हाउसले इरानसम्बन्धी निर्णयहरूमा सावधानीपूर्वक सन्तुलन खोजिरहेको छ।
एनबिसीको रिपोर्टअनुसार ह्वाइट हाउसका एक अज्ञात अधिकारीले राष्ट्रपति ट्रम्पले इरानसँग सम्बन्धित विकल्पहरू मूल्याङ्कन गर्दा चीन भ्रमणलाई महत्त्वपूर्ण कारकका रूपमा लिएको जानकारी दिनुभएको छ। मे १४ र १५ का लागि तय गरिएको यो भ्रमणलाई प्रशासनले अत्यन्त प्राथमिकताका साथ हेरिरहेको छ। द्वन्द्व सुरु भएपछि एकपटक स्थगित भइसकेको भ्रमणलाई फेरि पछाडि सार्ने पक्षमा प्रशासन नरहेको जनाइएको छ।
यसैबीच, द न्युयोर्क टाइम्सले स्ट्रेट अफ हर्मुज र इरानी बन्दरगाहहरू वरिपरि लागू गरिएको दोहोरो समुद्री प्रतिबन्धले कूटनीतिक वातावरणलाई अझ जटिल बनाएको उल्लेख गरेको छ। यी अवरोधहरूले बेइजिङ भ्रमणलाई ‘उच्च जोखिमयुक्त’ बनाइरहेको बताइएको छ, जहाँ सुरक्षा र आपूर्ति व्यवस्थापन दुवै चुनौतीका रूपमा उभिएका छन्।
चीनले युद्ध अन्त्यका लागि मध्यस्थ भूमिका खेल्ने इच्छा व्यक्त गरिरहे पनि वासिङ्टन र बेइजिङबीचको तनाव कायम छ। अमेरिकी प्रशासनले इरानी तेलसँग व्यापार गरेको आरोपमा चिनियाँ ढुवानी कम्पनी र तेल प्रशोधन केन्द्रहरूमाथि प्रतिबन्ध लगाउँदै आएको छ, जसले द्विपक्षीय सम्बन्धमा थप दबाब सिर्जना गरेको छ।
ऊर्जा सुरक्षाको प्रश्नले पनि यस समग्र परिस्थितिलाई जटिल बनाएको छ। चीनसहित धेरै देशहरू हर्मुज जलघाँटीमार्फत हुने तेल ढुवानीमा निर्भर छन्। मार्चको सुरुदेखि जलमार्ग आंशिक रूपमा बन्द हुँदा विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ र यसले अमेरिका–चीन वार्तामा नयाँ दबाब थपेको छ।
यसबीच राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता जारी रहेको खुलासा गर्नुभएको छ, तर ती वार्ताको विवरण सीमित समूहमा मात्र राखिएको उनको भनाइ छ। ‘वार्ताको वास्तविक अवस्था थाहा पाउनेहरू म र केही व्यक्तिहरू मात्रै हौँ’, उनले ओभल अफिसमा पत्रकारहरूसँग भने। साथै इरानको नेतृत्व संरचना अस्पष्ट रहेको उल्लेख गर्दै उनले वार्तामा त्यसले चुनौती थपेको बताए।
यद्यपि, ट्रम्पले इरान सम्झौताको खोजीमा रहेको दाबी गरेका छन्।
उनका अनुसार अमेरिकी नाकाबन्दी र आर्थिक दबाबले इरानको अर्थतन्त्र गम्भीर सङ्कटमा परेको छ। ‘अवरोधको प्रभाव अत्यन्तै गहिरो छ’, उनले भने। यसले हर्मुज जलघाँटी केन्द्रित अमेरिकी रणनीतिक दबाबलाई सङ्केत गर्छ। सैन्य विकल्पका सन्दर्भमा भने ट्रम्पले सतर्कता देखाउनुभएको छ । ठूलो स्तरको आक्रमण आवश्यक छ वा छैन भन्नेबारे अनिश्चितता व्यक्त गर्दै उहाँले परिस्थिति हेरेर निर्णय गरिने सङ्केत दिए। सिएनएनका अनुसार पेन्टागनबाट अद्यावधिक सैन्य विकल्पहरू प्राप्त हुने अपेक्षा गरिएको छ, जसले आगामी निर्णय प्रक्रियामा भूमिका खेल्नेछ।
अमेरिकी आन्तरिक राजनीतिमा पनि यस विषयले बहस चर्काएको छ। कंग्रेसले राष्ट्रपतिको सैन्य अधिकार सीमित गर्न प्रयास गरिरहँदा ट्रम्पले त्यसको आलोचना गरेका थिए। उनले आफू इरानसँग सम्झौतामा केन्द्रित हुँदा पनि विधायिकाबाट निरन्तर अवरोध भइरहेको गुनासो गरे।
यसैबीच, युद्धविरामका कारण सन् १९७३ को युद्ध शक्ति प्रस्तावअन्तर्गतको ६० दिने समयसीमा रोकिने प्रशासनको दाबीले नयाँ कानूनी विवाद निम्त्याएको छ। रक्षामन्त्री पीट हेगसेथले सिनेटमा गवाही दिँदै युद्धविरामले उक्त समयसीमा स्थगित भएको तर्क गरे। तर डेमोक्रेटिक सिनेटर टिम केनले यस व्याख्यामा असहमति जनाउँदै कानूनी रूपमा यो टिक्न नसक्ने बताए।