पर्सा। उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगञ्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियमको भन्सार जाँचपास गरेर तीन अर्ब १५ करोड राजस्व संकलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी–व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार तीन दिन सहभागि नहुँदा पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूलजन्य वस्तुको भन्सार जाँचपास हुँदा तीन दिनमा करिब तीन अर्ब १५ करोड राजस्व संकलन भएको बताए।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार वैशाख १५ गते ३५ करोड राजस्व संकलन भएको थियो। त्यस्तै वैशाख १६ गते एक अर्ब ९० करोड राजस्व संकलन भयो। त्यस्तै वैशाख १७ गते पनि ९० करोड राजस्व संकलन भएको सूचना अधिकारी विष्टले जानकारी दिए।
‘पेट्रोलियम पदार्थको भन्सार जाँचपास भएकाले पनि सो रकम राजस्व संकलन भएको हो,’ उनले भने।
आर्यातकर्ता तथा स्वदेशी उद्यमले चौथो दिन पनि भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्। आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो। सूचना अधिकारी विष्टका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो।
सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो। वीरगञ्ज भन्सार कार्यालयले दैनिक ५० देखि ६० करोडसम्म राजस्व संकलन गर्दै आएको छ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले आज पनि भन्सार जाँचपास प्रक्रिया अघि बढ्न नसकेको बताए।–रासस