काठमाडौं। नेपालको प्लाइउड तथा बाँसजन्य उत्पादन क्षेत्रमा स्थापित नाम ‘शान्ता प्लाइउड लिमिटेड’ (साविकको भुसाल प्लाइउड एण्ड बम्बो इन्डस्ट्रिज)ले आफ्नो व्यापारमा ३८ प्रतिशतले वृद्धि गरेको छ। उत्पादनको गुणस्तर सुनिश्चित गर्ने भारतीय मापदण्ड ‘बीआईएस’ प्रमाणीकरण प्राप्त गरेसँगै कम्पनीको व्यापार र साख मूल्यांकनमा सकारात्मक प्रभाव देखिएको हो।
क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीको ५९ करोड ६२ लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक ऋणको रेटिङ सुधार गर्दै ‘डबल बी माइनस’ प्रदान गरेको छ। यसअघि यो रेटिङ ‘बी प्लस’ रहेको थियो। त्यस्तै, २५ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङलाई पुनः पुष्टि गरेको छ। योसँगै कम्पनीको ऋण सीमा ८५ करोड १२ लाख रुपैयाँ कायम भएको छ। यसअघि ६८ करोड ८१ लाख दीर्घकालीन र २४ करोड ५० लाख रुपैयाँ अल्पकालीन कर्जा सीमा निर्धारण भएको थियो।
शान्ता प्लाइउडको व्यापारको ग्राफ पछिल्लो एक वर्षमा ३८ प्रतिशत बढेपछि रेटिङमा सुधार भएको रिपोर्टमा उल्लेख छ। आर्थिक वर्ष २०२४ मा ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले आर्थिक वर्ष २०२५ मा ५५ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो। कम्पनीले आव २०२३ मा १३ करोड ३० लाख र आव २०२२ मा १० करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो।
व्यापार बढ्नुको मुख्य कारण भारतीय बजारमा निर्यातका लागि अनुमति पाउनु र ‘ग्रेड ए’ प्लाइउडको बिक्री सुरु गर्नुलाई मानिएको छ। बीआईएस प्रमाणीकरणले नेपाली प्लाइउडलाई भारतीय बजारमा विश्वसनीयता प्रदान गरेपछि मागमा उल्लेख्य वृद्धि भएको रिपोर्टले औँल्याएको छ।
सन् २०१३ मा नवलपरासीको रामग्राममा उद्योग स्थापना गरी सञ्चालनमा आएको यो कम्पनीले वार्षिक ३ करोड ४ लाख ५९ हजार वर्ग फिट प्लाइउड उत्पादन गर्ने क्षमता राख्दछ। कम्पनीले मुख्यतया बाँस र काठजन्य कच्चा पदार्थबाट प्लाइउड बोर्ड, ढोका र अन्य बाँसका फर्निचरजन्य उत्पादनहरू बिक्री गर्दै आएको छ।
कम्पनीले कच्चा पदार्थको आपूर्तिका लागि आफ्नै समूहको विशाल भेनियर उद्योगसँग ब्याकवार्ड इन्टिग्रेसन गरेको छ। यसले गर्दा कच्चा पदार्थको अभाव नहुने र लागत समेत कम पर्ने कम्पनीको सबल पक्ष हो।
कम्पनीको नाफा मार्जिनमा पनि लोभलाग्दो सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा ५ प्रतिशत मात्र रहेको सञ्चालन नाफा मार्जिन २०२५ मा बढेर करिब २० प्रतिशत पुगेको छ। त्यस्तै, खुद नाफा मार्जिन पनि १ प्रतिशतबाट सुधारिएर ११ प्रतिशत पुगेको छ।
प्रवर्द्धकहरूले कम्पनीमा थप पुँजी लगानी गरेपछि ऋण र नेटवर्थको अनुपात ३.२३ बाट घटेर २.१७ गुणामा झरेको छ। यसले कम्पनीको वित्तीय संरचना सन्तुलित बन्दै गएको देखाउँछ। सन् २०२५ जुलाई १६ मा यो कम्पनी प्राइभेटबाट पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ।
शान्ता प्लाइउड ‘भुसाल ग्रुप’ अन्तर्गतको उद्योग हो। यसको नेतृत्व तीन दशक लामो व्यावसायिक अनुभव भएका बालकृष्ण भुसालले गरिरहेका छन्। हाल कम्पनीमा बालकृष्ण भुसालको ४५.९५ प्रतिशत र शान्ता कुमारी कँडेल भुसालको १८.६८ प्रतिशत सेयर स्वामित्व रहेको छ। कम्पनीको व्यवस्थापनमा अमृत भुसाल लगायतका युवा तथा अनुभवी टिम क्रियाशील छ।
व्यापार र नाफा बढे पनि कम्पनीका लागि कार्यशील पुँजी व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ। कम्पनीको पैसा बजार र मौज्दातमा लामो समय थुप्रिने गरेकाले ‘वर्किङ क्यापिटल इन्टेन्सिटी’ ८८ प्रतिशत पुगेको छ। त्यस्तै, वर्षायाममा उत्पादन बन्द हुने समस्या र बजारमा रहेको तीव्र प्रतिस्पर्धाले नाफामा दबाब पर्न सक्ने जोखिम रेटिङ रिपोर्टले औँल्याएको छ।