नेपालगन्ज। द्वन्द्वकालमा बन्द बाँकेको छोटी भन्सार नरैनापुर सञ्चानलमा आउने भएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौलाले नरैनापुर छोटी भन्सार नेपालगन्ज भन्सार अन्तरगत रहेर सञ्चालनमा आउने जानकारी दिँदै भौतिक पूर्वाधारको निर्माण र कर्मचारीको व्यवस्थान गरिने बताए।
‘यो छोटी भन्सार अस्थायी पैठारी र घरायसी सामान ल्याउनका लागि मात्रै हो’, उनले भने। भन्सार नियमावली २०८३ मा बाँकेको नरैनापुरमा पनि छोटी भन्सार स्थापना हुने उल्लेख भएपछि यस क्षेत्रका स्थानीय व्यवसायी तथा व्यापारी खुसी देखिएका छन्।
सात वटा छोटी भन्सार रहेको बाँकेमा अन्य बन्द भए पनि जिल्लाको नरैनापुरमा मात्रै छोटी भन्सार स्थापनाका लागि तयारी गरिएको भन्सार कार्यालय नेपालगन्जका प्रमुख जर्नादन पौडेलले जानकारी दिए। ‘यहाँ रहेका सात वटा छोटी भन्सारमध्ये नरैनापुरको मात्रै परेको छ, यो पनि भन्सार नियमावलीको अनूसुचीमा नाम उल्लेख भएको मात्र हो,” उनले भने।
छोटी भन्सारबाट समान दुरुपयोगको जोखिम हुने उल्लेख गर्दै उनले मूल भन्सारबाट समान नल्याएर छोटी भन्सार लैजाने प्रचलन रहेको व्यवसायीलाई आरोप लगाए। नरैनापुरबाट धेरै समान नआए पनि आलु, प्याज र केही पशु आउन सक्ने पौडेलको भनाइ छ। उनले नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउने निश्चित भएलगत्तै एक सातामै सञ्चालनमा आउने जानकारी दिए।
उद्योग बाणिज्य संघ नेपालगन्जका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले छोटी भन्सार स्थापन हुनु व्यवसायीका लागि खुसीको कुरा भएको उल्लेख गर्दै मुख्य भन्सारबाट आउने सामान छोटी भन्सारबाट नआउने तर्क गरे। उनले राजस्व संकलनसँगै तस्करी नियन्त्रणमा सघाउ पुग्ने भएकाले वैधानिक व्यवसाय र व्यापार गर्नेका लागि सुखद् स्थिति भएको बताए।
आइसीपीबाट आउने कन्टेनरसहितका समान छोटी भन्सारबाट नआउने ओलीको भनाइ छ। संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नरैनापुर छोटी भन्सार अहिलेको अवस्थामा स्थापना भए डिजिटल प्रणालीमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै त्यसले जमुहनाह नाकाको भीड घट्ने विश्वास व्यक्त गरे।
उनले छोटी भन्सारबाट राज्यले नाफा लिन सक्ने अवस्था हुनुपर्ने उल्लेख गर्दै नरैनापुर छेटी भन्सार पारदर्शी रूपमा सञ्चालनमा आउनुपर्ने बताए। ‘चोरी, निकासी बन्द हुनुपर्छ र आसपासका स्थानीयले यसको फाइदा लिनुपर्छ’, श्रेष्ठको भनाइ छ। संघका पूर्वअध्यक्ष नन्दलाल वैश्यले नेपालगन्जका व्यवसायीका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अवैध व्यापार निरुत्साहित हुने बताए।
तत्कालीन द्वन्द्वकालमा यहाँ सञ्चालनमा रहेका सात छोटी भन्सार असुरक्षाका कारण बन्द भएका थिए।–रासस