काठमाडौं। पाल्पा सिमेन्ट इन्डस्ट्रिजको वार्षिक आम्दानीको तुलनामा बैंक ऋणको भार उच्च देखिएको छ। इक्रा नेपालको रिपोर्टअनुसार कम्पनीको पुँजीगत संरचनामा ऋणको हिस्सा बढी हुँदा वित्तीय सूचकमा दबाब परेको हो।
इक्रा नेपालले कम्पनीको इस्युअर रेटिङ ‘डबल बी’ रेटिङ तय गरेको छ। कम्पनीले कुल ७ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको बैंकिङ कर्जा सुविधाका लागि रेटिङ गराएको छ। जसमध्ये ५ अर्ब ८३ करोड ८३ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि ‘एल डबल बी’ र १ अर्ब ६८ करोड ६० लाख रुपैयाँ अल्पकालीन कर्जामा ‘ए–फोर’ रेटिङ इक्राले दिएको छ। उक्त रेटिङले वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा कम्पनी मध्यम स्तरको जोखिममा रहेको संकेत गर्छ। कम्पनीको आधार मजबुत भएपनि ऋणको भार उच्च हुनु र नाफामा संकुचन आउनाले उक्त रेटिङ प्रदान गरिएको इक्राले उल्लेख गरेको छ।
कम्पनीको दीर्घकालीन ऋणको भार स्थिर रहे पनि आईपीओपछि अल्पकालीन चालु पुँजी कर्जाको वास्तविक उपयोगमा उल्लेख्य गिरावट आएको रिपोर्टमा उल्लेख छ। कम्पनीको कुल ऋण र सञ्चालन नाफाको अनुपात ७.७ गुणा रहेकाले अझै पनि ऋणको दायित्व उच्च छ।
आर्थिक वर्ष २०२५ मा कम्पनीले ४ अर्ब ११ करोड रुपैयाँको व्यापार गरेको थियो। अघिल्ला तीन वर्षदेखि कम्पनीको व्यापार ४ अर्बकै हाराहारीमा स्थिर छ। चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो ६ महिनामा कम्पनीको व्यापार ४६ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। नाफातर्फ आर्थिक वर्ष २०२५ मा ९ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालू आवको पहिलो ६ महिनामा २ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। सञ्चालन नाफा मार्जिन २२ देखि २४ प्रतिशतको बीचमा रहे पनि ऋणको ब्याज र किस्ता भुक्तानीका कारण खुद नाफामा संकुचन देखिएको हो।
रेटिङ रिपोर्टअनुसार, कम्पनीको ऋण र सञ्चालन नाफाको अनुपात ७.७ गुणा छ, जसले ऋणको बोझ उच्च रहेको देखाउँछ। ऋण सेवा कभरेज अनुपात (डिएससीआर) १.४ गुणा छ। सन् २०२६ मार्चमा निष्कासन गरिएको ७५ करोड रुपैयाँ आईपीआबाट प्राप्त रकम कम्पनीले स्थायी चालु पुँजी कर्जा भुक्तानीमा उपयोग गरेको छ। यसबाट कम्पनीको तरलता अवस्थामा सुधार आएको छ। मिड–जनवरी २०२६ मा ८४ प्रतिशत रहेको ऋण सीमाको उपयोग मिड–अप्रिलसम्म ४० प्रतिशतमा झरेको छ।
कम्पनीमा चालु पुँजी कर्जाको आवश्यकता र भार उच्च देखिन्छ। आर्थिक वर्ष २०२५ मा ५६ प्रतिशत रहेको यस्तो भार चालू आवको ६ महिनामा बढेर ६२ प्रतिशत पुगेको छ। कच्चा पदार्थको मौज्दात र बजारको उधारोका कारण व्यवसाय सञ्चालन गर्न कम्पनी बैंक ऋणमा बढी निर्भर हुनुपरेको छ।
पाल्पा सिमेन्ट सन् २००९ मा स्थापना भएको हो। आरएमसी ग्रुपद्वारा प्रवद्र्धित यो कम्पनीलाई आफ्नै चुनढुंगा खानी र भारततर्फको निर्यातले केही सघाएको छ। यद्यपि, सरकारले निर्यात अनुदान कटौती गर्नु, सिमेन्ट उद्योगको तीव्र प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यमा हुने परिवर्तन कम्पनीका लागि मुख्य चुनौती रहेको रिपोर्टमा उल्लेख छ।