काठमाडौं। नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। करिब तीन अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण हुने यो परियोजना ३ वर्षभित्र सञ्चालनमा ल्याइने लक्ष्य राखिएको अस्पतालका निर्देशक मेघा चौधरीले जानकारी दिइन्।
क्यान्सर रोगको समग्र निदान, उपचार तथा अनुसन्धान एउटै छानामुनि उपलब्ध गराउने लक्ष्यसहित संस्थान स्थापना गर्न लागिएको निर्देशक चौधरीको भनाइ छ। ‘विश्वस्तरका दिशानिर्देशअनुसार उन्नत प्रविधिको प्रयोग गर्दै यस संस्थानमा विश्वसनीय निदान सेवा, शल्यक्रिया, किमोथेरापी, रेडियसन थेरापी तथा उपशामक सेवा प्यालियटिभ केयर उपलब्ध गराइने उनले बताइन्।
संस्थानबाट बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका क्यान्सर बिरामीका लागि मेडिकल, सर्जिकल, रेडियसन, हेमाटोलोजी तथा जेरियाट्रिक सेवाहरू, दक्ष र अनुभवी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा प्रदान गरिने छ। संस्थानमा अनुसन्धानात्मक र शैक्षिक गतिविधिसमेत सञ्चालन गरिने निर्देशक चौधरीले जानकारी दिइन्। क्यान्सर मनोविज्ञान, जेनोमिक्सलगायत अन्य विशिष्टीकृत अनुसन्धान कार्य अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा शिक्षण संस्थाहरूसँगको सहकार्यमा सञ्चालन गरिने छ।
नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित अस्पताल नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको एकै छानामुनि समग्र उपचार सेवाको अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा अस्पतालमा आयोजित नर्सिङ अवार्ड कार्यक्रम समापनमा नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान स्थापनाको घोषणा गरेका हुन्।
नर्भिकले आगामी दिनमा क्यान्सर उपचारमा विश्वव्यापी रूपमै भइरहेको नवीनतम प्रविधिको विकास र प्रयोगलाई नेपालमा समेत परिचित गराउन अमेरिका, सिंगापुर र भारतका अग्रणी क्यान्सर उपचार तथा अनुसन्धान केन्द्रहरूसँग परस्पर सहकार्य गर्ने जनाएको छ।