काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६० औं साधारण सभा एवं निर्वाचनबाट नयाँ नेतृत्व आइसकेको छ। अब निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष छान्ने पालो आएको छ। शुक्रबार हुने यो चयन प्रक्रियामा अध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डे र निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल तिनैजना फरक–फरक उम्मेदवार लिएर मैदानमा उत्रिएका छन्। चुनावी मैदानमा एकजुट देखिएका नेतृत्वहरू पदाधिकारी चयनको विषयमा भने फाटिँदै गएका छन्।
यसपटकको पदाधिकारी चयन विशेष महत्त्वको छ, किनकि संशोधित विधान अनुसार पहिलो पटक एक पटक पदाधिकारी भइसकेकाहरू पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था लागू भएको छ। यसअघिको विधानमा विद्यमान कार्यसमितिका सदस्यहरूबाट मात्र पदाधिकारी चयन हुने प्रावधान थियो। नयाँ विधानले यो दायरा फराकिलो बनाएसँगै पूर्व उपाध्यक्षहरू रामचन्द्र संघई, किशोरलाल प्रधान, हेमराज ढकाल, सुरकृष्ण वैद्य र पूर्व कोषाध्यक्ष भरत आचार्यको नाम वरिष्ठ उपाध्यक्षको दौडमा आएको छ।
अर्को महत्त्वपूर्ण परिवर्तन भनेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने पुरानो व्यवस्था खारेज भएको हो। अब तीन वर्षपछि हुने निर्वाचनमा अध्यक्ष सहितको प्रत्यक्ष चुनाव हुनेछ। यसअघिको विधान अनुसार वरिष्ठ उपाध्यक्षबाट स्वतः अञ्जन श्रेष्ठ अध्यक्ष बनिसकेका छन्।
अध्यक्ष श्रेष्ठ दोहोरो दबाबमा
अध्यक्ष श्रेष्ठ वरिष्ठ उपाध्यक्षका लागि सुरकृष्ण वैद्यको पक्षमा उभिएका छन् र वैद्यलाई सहयोग गर्ने वचन दिइसकेको बताइन्छ। तर किशोरलाल प्रधानले पनि दाबी बढाएपछि उनी दोहोरो दबाबमा परेका छन्। प्रधान पनि श्रेष्ठ निकट नै मानिने हुँदा उनलाई खुलेर एउटै पक्षमा लाग्न सहज भएको छैन। कार्यसमिति चयनको बेला श्रेष्ठले वैद्यलाई अगाडी सारे पनि अहिले प्रधानको दाबी बलियो हुँदै जाँदा उनको अवस्था जटिल बन्दै गएको छ।
पाण्डेको क्यान्डिडेट संघई
चुनावी यात्रामा अध्यक्ष श्रेष्ठसँगै हिँडेका एसोसिएट उपाध्यक्ष पाण्डेले भने चुनावअघि गरेको वाचा अनुरूप रामचन्द्र संघईलाई वरिष्ठ उपाध्यक्षमा अघि सार्दै आएका छन्। एसोसिएट तर्फबाट उपाध्यक्षमा निर्वाचित पाण्डेले सुरुदेखि नै संघईको पक्षमा मत राख्दै आएका थिए। अध्यक्ष श्रेष्ठले वैद्यलाई अघि सारेपछि पाण्डे केही दबाबमा परे पनि अनौपचारिक रूपमा संघईलाई नै सहयोग गर्ने उनको अडान कायम रहेको छ। औपचारिक रूपमा खुल्न नसके पनि उनको समर्थन संघईतर्फ नै झुकेको देखिन्छ।
संघईसँग एसोसिएट तर्फका केन्द्रीय सदस्यहरूको बलियो साथ रहेको छ। उनले वस्तुगत र जिल्ला तर्फको मत बटुल्ने रणनीति अघि बढाइरहेका छन्। यसरी हेर्दा संघईको दाबी उल्लेख्य रूपमा बलियो देखिन्छ।
ढकाल खेमामा आन्तरिक तनाव
निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल खेमाबाट भने दुई उम्मेदवार अघि सरेपछि आन्तरिक तनाव उत्पन्न भएको छ। ढकाल निकट मानिँदै आएका भरत आचार्यले वरिष्ठ उपाध्यक्षमा दाबी ठोके पछि यही खेमाका हेमराज ढकाल दबाबमा परेका छन्। ६० औं साधारण सभाको बेला हेमराजले वरिष्ठ उपाध्यक्ष सहितको आफ्नो टिम नै सार्वजनिक गरेका थिए र निवर्तमान अध्यक्ष ढकालको साथ रहेको दाबी गर्दै आएका थिए। तर उनको टिमबाट कार्यसमितिमा वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले मात्र सफलता पाए। एकातिर कार्यसमितिमा टिमको पराजय र अर्कातिर ढकालका विश्वासपात्र आचार्य प्रतिस्पर्धामा उत्रिएपछि हेमराजको स्थिति कमजोर बन्दै गएको छ।
कोषाध्यक्षमा पनि त्यही विभाजन
कोषाध्यक्ष पदमा पनि अध्यक्ष श्रेष्ठ र एसोसिएट उपाध्यक्ष पाण्डेबीचको भिन्नता उत्तिकै स्पष्ट छ। अध्यक्ष श्रेष्ठले मनिषलाल प्रधानलाई सहयोग गर्ने आश्वासन दिएका छन् भने पाण्डेको साथ अम्बिकाप्रसाद पौडेलसँग रहेको बताइन्छ। यद्यपि हालसम्म कसले कसलाई सहयोग गर्ने भन्ने आधिकारिक पुष्टि भने भइसकेको छैन।
सर्वसम्मतको प्रयास, तर सहमति टाढा
वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा सर्वसम्मत गर्ने गरी केही अनौपचारिक छलफल अघि बढे पनि हालसम्म ठोस सहमति हुन सकेको छैन। उपाध्यक्ष र कार्यसमिति सदस्य चयनको बेला पनि सर्वसम्मतको कुरा उठेको थियो, तर आकांक्षी धेरै रहेको र प्यानल बनिसकेकाले सर्वसम्मत हुन सकेन। यसपटक पनि त्यस्तै अवस्था देखिँदैछ।
अध्यक्ष श्रेष्ठ आफ्नो तीन वर्षे कार्यकाल सुचारु गर्न आफू अनुकूलको पदाधिकारी खोजिरहेका छन् भने अन्य पक्षहरू सबैलाई समेटेर सहमतिमा पुग्नुपर्ने तर्क गरिरहेका छन्। यही विरोधाभासका कारण सर्वसम्मत टाढिँदै गएको देखिन्छ।
संशोधित विधान अनुसार निर्वाचित कार्यसमिति सदस्य र सातवटै प्रदेशका अध्यक्षले मत हाल्न पाउनेछन्। प्रदेश अध्यक्षहरू पदेन सदस्य भएकाले उनीहरूले कार्यसमिति र उपाध्यक्षको निर्वाचनमा मत हाल्न पाएका थिएनन्, तर यसपटक वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनमा उनीहरूको मत निर्णायक हुने सम्भावना छ।