काठमाडौं। पञ्चकन्या ग्रुपले आफ्नो व्यापारमा एक वर्षमै ‘रिबाउन्ड’ गरेको छ। आर्थिक मन्दी र निर्माण क्षेत्रको सुस्तताका कारण सन् २०२४ मा व्यापारमा गिरावट व्यहोरेको यो ग्रुपको व्यापार सन् २०२५ मा भने ‘रिबाउन्ड’ भएको हो।
स्टिल र प्लास्टिकजन्य उत्पादनमा नेपालकै अग्रणी स्थान ओगट्ने यस ग्रुपअन्तर्गतका चार प्रमुख कम्पनीहरूले आर्थिक वर्ष २०२५ मा करिब पौने ७ अर्ब रुपैयाँ बराबरको एकीकृत सञ्चालन आम्दानी (व्यापार) गरेका छन्। रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको पछिल्लो प्रतिवेदनअनुसार ग्रुपका सबै कम्पनीहरूको वित्तीय स्वास्थ्य र व्यावसायिक प्रदर्शनमा सुधार देखिएपछि उनीहरूलाई प्रदान गरिएको रेटिङलाई ‘क्रेडिट वाच विथ पोजेटिभ इम्प्लिकेसन्स’ (सकारात्मक प्रभावसहितको निगरानी) मा राखिएको छ।
ग्रुपको समग्र वित्तीय अवस्थालाई हेर्दा गत आर्थिक वर्ष २०२४ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँ रहेको व्यापार चालु वर्षमा करिब १४ प्रतिशत वृद्धि भएको हो। अघिल्लो वर्ष सन् २०२४ मा यी कम्पनीको एकीकृत व्यापार ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको थियो। सन् २०२३ मा ग्रुपले ७ अर्ब ८६ करोड रुपैयाँको कारोबार गरेको थियो। सन् २०२६ को ९ महिनामा भने ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो।
निर्माण क्षेत्रमा आएको सुस्तताका बाबजुद बिक्री परिमाणमा भएको वृद्धि र कच्चा पदार्थको मूल्यमा आएको स्थिरताले ग्रुपको सञ्चालन नाफा मार्जिनमा समेत सुधार ल्याएको छ। सन् २०२४ मा ७.९२ प्रतिशत रहेको एकीकृत सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर ९.६४ प्रतिशत पुगेको छ। यसले ग्रुपको ऋण व्यवस्थापन र ब्याज भुक्तानी क्षमतालाई थप सुदृढ बनाएको देखिन्छ।
व्यापारमा सुधार देखिएसँगै रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले ग्रुपका कम्पनीहरूलाई प्रदान गरेको रेटिङलाई ‘क्रेडिट वाच विथ पोजेटिभ इम्प्लिकेसन्स’ (सकारात्मक प्रभावसहितको निगरानी) मा राखेको छ। जसले आगामी दिनमा ग्रुपको वित्तीय अवस्था अझ सुदृढ हुने संकेत गर्दछ।
पञ्चकन्या स्टिल : व्यापारमा सुधार र ९ महिनामै ३ अर्ब बढीको कारोबार
ग्रुपको सबैभन्दा ठूलो हिस्सा ओगट्ने पञ्चकन्या स्टिलको व्यापारमा सन् २०२५ मा उल्लेख्य सुधार देखिएको छ। सन् २०२४ मा २८ प्रतिशतले घटेर ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँमा झरेको स्टिलको व्यापार चालु आर्थिक वर्ष (सन् २०२६) मा भने उत्साहजनक देखिएको छ।
कम्पनीका अनुसार चालु आवको पहिलो ९ महिनामै ३ अर्ब २३ करोड २० लाख रुपैयाँको व्यापार भइसकेको छ। सन् २०२४ को सोही अवधिमा २ अर्ब ५९ करोड ५० लाख रुपैयाँको मात्र व्यापार भएको थियो। सन् १९९५ देखि टीएमटी छड उत्पादन गर्दै आएको यस उद्योगको वार्षिक क्षमता १ लाख ५० हजार मेट्रिक टन छ। कम्पनीले देशभरका ९० डिलर र ७ वटा डिपोमार्फत ‘पञ्चकन्या’ ब्रान्डमा छड बिक्री गर्दै आएको छ। कम्पनीको नेतृत्व अध्यक्ष प्रेमबहादुर श्रेष्ठ र प्रबन्ध निर्देशक प्रदिपकुमार श्रेष्ठले गरिरहेका छन्।
पञ्चकन्या रोटोमोल्ड : १८ प्रतिशतको वृद्धि र ७९ करोडको व्यापार
सन् २०२४ मा १५ प्रतिशतले व्यापार घटेको पञ्चकन्या रोटोमोल्डले सन् २०२५ मा भने १८.२० प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले सन् २०२५ मा ७८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ। सन् २०२४ मा यसको कारोबार ६६ करोड ७० लाख रुपैयाँ थियो।
वार्षिक ६,५०० मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन क्षमता रहेको यस कम्पनीको सञ्चालन नाफा मार्जिन पनि १०.११ प्रतिशतबाट बढेर १३.१२ प्रतिशत पुगेको छ। कम्पनीले भैरहवास्थित उद्योगबाट उत्पादित सामग्री देशभर बिक्री वितरण गर्दै आएको छ।
पञ्चकन्या प्लास्टिक उद्योग : ९८ करोडको व्यापार
सन् १९८२ मा स्थापना भएको ग्रुपकै जेठो प्लास्टिक उद्योग, पञ्चकन्या प्लास्टिक उद्योगको व्यापार सन् २०२५ मा ९८ करोड ३० लाख रुपैयाँ पुगेको छ। सन् २०२४ मा यसको व्यापार ८८ करोड २० लाख रुपैयाँमा सीमित थियो।
यस कम्पनीले पनि चालु आवको ९ महिनामा ६० करोड ५० लाख रुपैयाँको व्यापार गरिसकेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ४० लाख रुपैयाँ थियो। वार्षिक ९ हजार मेट्रिक टन एचडीपीई पाइप तथा फिटिङ्स उत्पादन क्षमता रहेको यो उद्योगले सिँचाइ र खानेपानी आयोजनाहरूका लागि आवश्यक सामग्री आपूर्ति गर्दै आएको छ।
पञ्चकन्या प्लास्ट : २४ प्रतिशतको व्यापार रिबाउन्ड
पञ्चकन्या प्लास्ट प्रालिको व्यापार सन् २०२५ मा २४ प्रतिशतले बढेर ७९ करोड १० लाख रुपैयाँ पुगेको छ। सन् २०२४ मा यसको व्यापार ६४ करोड रुपैयाँ मात्रै थियो। चालु आवको ९ महिनामा मात्रै कम्पनीले ५८ करोड रुपैयाँको व्यापार गरिसकेको छ।
सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक क्षमता ५ हजार मेट्रिक टन छ। सञ्चालन खर्चमा गरिएको कटौती र बिक्री परिमाणमा भएको वृद्धिका कारण कम्पनीको नाफा र वित्तीय सूचकहरूमा सुधार देखिएको छ।
८ अर्ब ६६ करोड बढीको कर्जा सीमा र रेटिङ
व्यापारमा सुधार आएसँगै ग्रुपले आफ्नो चालुपुँजी र पूर्वाधार विस्तारका लागि कर्जाको क्षमतालाई पनि अद्यावधिक गरेको छ। ग्रुपका चार कम्पनीले कुल ८ अर्ब ६६ करोड २२ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएका छन्।
यसमध्ये पञ्चकन्या स्टिलले ५ अर्ब १४ करोड ३१ लाख रुपैयाँ, पञ्चकन्या प्लास्टले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ, पञ्चकन्या प्लास्टिक उद्योगले १ अर्ब १७ करोड ३१ लाख रुपैयाँ र पञ्चकन्या रोटोमोल्डले १ अर्ब १० करोड १० लाख रुपैयाँको ऋण सीमाका लागि रेटिङ पाएका छन्। केयर रेटिङ्सले दीर्घकालीन कर्जाका लागि ‘बी प्लस’ र अल्पकालीन कर्जाका लागि ‘ए फोर’ रेटिङ प्रदान गरेको छ।
ब्रान्ड भ्यालु र उच्च ऋणको भार
पञ्चकन्या ग्रुपको मुख्य अवसर भनेको यसको ३५ वर्षभन्दा लामो अनुभव र स्थापित ‘पञ्चकन्या’ ब्रान्ड हो। देशभर फैलिएको डिलर सञ्जाल र अनुभवी व्यवस्थापन टोली यसका सबल पक्ष हुन्। पञ्चकन्या ग्रुपको सफलताको मुख्य आधार यसको बलियो प्रवद्र्धक समूह र अनुभवी नेतृत्व हो। ग्रुपको नेतृत्व संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठले गरेका छन्। पाँच दशकभन्दा लामो व्यावसायिक अनुभव भएका श्रेष्ठको मार्गदर्शनमा सात सदस्यीय सञ्चालक समितिले ग्रुपको रणनीतिक सञ्चालन गरिरहेको छ। ग्रुपको मुख्य लगानी पञ्चकन्या ग्रुप र श्रेष्ठ परिवारको रहेको छ। सन् १९७० को दशकबाट सुरु भएको यो ग्रुपले हाल ट्रेडिङ, उत्पादन, ऊर्जा र अटोमोबाइल्स क्षेत्रमा आफ्नो लगानी विस्तार गरिसकेको छ।
कम्पनीको मुख्य उत्पादन केन्द्रहरू भैरहवामा केन्द्रित छन्, त्यहाँबाट देशभरका डिलर र डिपोहरूमार्फत उत्पादनहरू ग्राहकसम्म पुग्ने गर्दछन्। पञ्चकन्या आफैँमा एक स्थापित ब्रान्ड भएकाले नयाँ आउने प्रतिस्पर्धीहरूको तुलनामा यसको बजार पहुँच र ग्राहकको विश्वास निकै बलियो रहेको रिपोर्टमा उल्लेख छ।
यद्यपि, उच्च ऋणको भार ग्रुपका लागि अझै पनि चुनौतीको रूपमा रहेको प्रतिवेदनले औंल्याएको छ। सबैभन्दा ठूलो चुनौतीका रूपमा उच्च ऋण भार रहेको छ। सञ्चालन आम्दानीको ठूलो हिस्सा ब्याज तिर्नमै खर्च हुने भएकाले खुद नाफामा दबाब छ। त्यस्तै, कच्चा पदार्थका लागि थाइल्याण्ड, सिंगापुर र भारत जस्ता मुलुकमा निर्भर रहनुपर्ने र डलरको भाउमा हुने उतारचढावले लागत बढाउने जोखिम सधैँ रहन्छ।
नेपाल सरकारको पुँजीगत खर्चमा हुने ढिलाइले निर्माण क्षेत्र सुस्त हुँदा बिक्री लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको छ। स्टिल र प्लास्टिक उद्योगमा बढ्दो तीव्र प्रतिस्पर्धाका कारण मूल्यमा सम्झौता गर्नुपर्ने र उधारो असुलीमा ढिलाइ हुने जस्ता समस्याहरू ग्रुपका लागि प्रमुख चुनौती हुन्। यी चुनौतीहरूलाई चिर्दै ऋणको भार घटाउनु र सञ्चालन दक्षता बढाउनु नै पञ्चकन्या ग्रुपको आगामी यात्राको मुख्य कार्यभार हुने देखिन्छ। यी चुनौतीका बाबजुद सन् २०२५ मा देखिएको व्यापारको रिबाउन्डले पञ्चकन्या ग्रुप पुनः पुरानै लयमा फर्कन लागेको संकेत गरेको छ।