नेपाली उद्यमी डग्सी च्युका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र खनाल र प्रमुख बजार व्यवस्थापन अधिकृत स्नेह शर्मा क्यान्स २०२६ मा सहभागी भएका छन्। जीवन र व्यवसाय दुवैका साझेदार रहेका उनीहरूको उपस्थितिले अन्तर्राष्ट्रिय उद्यमशीलता क्षेत्रमा नेपाली पहिचानलाई समेटेको छ।
यससँगै भूपेन्द्र खनाल प्रतिष्ठित क्यान्स रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली उद्यमी बनेका छन्। विश्वकै चर्चित मञ्चमध्ये एक मानिने क्यान्समा उनको उपस्थितिलाई नेपाली उद्यमशीलता र विश्व बजारमा बढ्दो नेपाली प्रभावको प्रतीकका रूपमा हेरिएको छ।
उनीहरूको रेड कार्पेट उपस्थितिलाई अझ विशेष बनाएको पक्ष भनेको त्यसको भावनात्मक कथा हो। दम्पतीले आफ्नो दिवंगत कुकुर ‘मोग्ली’लाई सम्मान गर्दै विशेष शैलीमा आफूलाई प्रस्तुत गरेका थिए। मोग्लीकै प्रेरणाबाट सुरु गरिएको डग्सी च्यु अहिले भारतको अग्रणी ‘पेट वेलनेस’ ब्रान्डमध्ये एकका रूपमा स्थापित भइसकेको छ।
स्नेह शर्माले लगाएको विशेष डिजाइनको पोशाकको कोर्सेटमा मोग्लीको आकृति कलात्मक रूपमा कढाइ गरिएको थियो भने पोशाकको तल्लो भागमा हिमाली संस्कृतिबाट प्रेरित बुन्नाइ समावेश गरिएको थियो। यसले कम्पनीको नेपाली जड र हिमाली पहिचानलाई झल्काएको थियो।
त्यस्तै, भूपेन्द्र खनालको सुटको बायाँ भागमा पनि मोग्लीको विशेष आकृति राखिएको थियो। उनले लगाएको नेपाली ढाका टोपीले क्यान्सको रेड कार्पेटमा नेपाली सांस्कृतिक पहिचानलाई थप आकर्षक बनाएको थियो।
अन्तर्राष्ट्रिय बजारमा विस्तार भइरहेको डग्सी च्युले अहिले ‘पेट वेलनेस’ क्षेत्रमा उल्लेखनीय उपस्थिति बनाइरहेको छ। भूपेन्द्र र स्नेहको यात्रा उद्यमशीलता, व्यक्तिगत भावनात्मक कथा, सांस्कृतिक पहिचान र विश्वव्यापी सफलताको प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।