काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बहुलवादी लोकतन्त्रमा फरक मतको सम्मान हुने बताएका छन्। प्रतिनिधिसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले सबै दलको लक्ष्य सुशासित र समुन्नत नेपाल निर्माण भए पनि त्यहाँ पुग्ने बाटोमा मतभेद हुन सक्ने बताएका हुन्।
अर्थमन्त्री वाग्लेले विगत ३० वर्षको नीति, शासकीय शैली र चरित्रकै कारण राजनीतिक तथा आर्थिक–सामाजिक रूपान्तरणको माग बढेको उल्लेख गर्दै कुशासनको ठूलो मूल्य देशले चुकाएको बताए। उनले सरकारले सुशासन, शासकीय सुधार र रूपान्तरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तथा बजेटको आधार तयार गरेको बताए।
‘एउटा सुशासित, समुन्नत नेपालको चाहना हामी सबैको हो। अर्थतन्त्रको आकार बढोस्, सम्मानजनक रोजगारी र औसत प्रतिव्यक्ति आयमा वृद्धि होस्, राज्यले सामाजिक न्यायको पक्षमा गर्न सक्ने लगानीको सामर्थ्य बढोस्, अन्तर्राष्ट्रिय प्रतिष्ठा र आत्मसम्मान कायम होस्’,उनले भने,‘अब त्यहाँ पुग्ने बाटोमा चाहिँ केही विमति हुन सक्छ। साध्य र गन्तव्यमा विमति नहोला, पुग्ने बाटोमा चाहिँ जरुर केही विमतिहरू छन्।’
विपक्षीतर्फ संकेत गर्दै उनले जनताबाट अनुमोदित आफ्नै दस्ताबेज लागू गराउन अर्को चुनाव कुर्नुपर्ने टिप्पणी गरे। साथै संविधानप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक संशोधन भए पनि संविधानकै व्यवस्था अनुसार अघि बढ्ने स्पष्ट पारे।
उनले विपक्षीलाई भने, ‘अब आफ्नै भाषा, आफ्नै दस्ताबेज अनुमोदित गराउनलाई अर्को चुनाव चाहिँ कुर्नुपर्ला। तर यति भन्दै गर्दा पनि संविधानप्रतिको हाम्रो बफादारीबारे आधारहीन संशय छरिएको छ। संविधानमा मन नपरेका प्रावधानहरूलाई फेर्न परे पनि यही संविधानकै धारा २७४ र धारा २७५ टेकेर मात्रै गर्छौँ भन्ने कुरा फेरि हामीले वाचापत्रमा उल्लेख गरेका छौँ।’
अर्थमन्त्री वाग्लेले संविधानप्रति आफूहरू प्रतिबद्ध रहेको बताए।