काठमाडौं। चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तापछि दुई देशले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममा जारी गरिएको विज्ञप्ति अनुसार रुस र चीनले न्यायपूर्ण र निष्पक्ष विश्वव्यापी व्यवस्थाको लागि आह्वान गरेका छन्। अझ समतामूलक र सन्तुलित बहुध्रुवीय संसारको लागि आह्वान गर्दै नयाँ प्रकारका अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई प्रवर्द्धन गरेका छन्।
यस उद्देश्यका लागि दुवै देशले अन्तर्राष्ट्रिय समुदायलाई केही आधारभूत सिद्धान्त अपनाउन अपिल गरेका छन्।
जुन यस प्रकार छन्:
–यस्तो हुनुपर्छ विश्व, जहाँ सबै देश मिलेर काम गरून् र सबैलाई फाइदा होस्।
–प्रत्येक देशको सुरक्षालाई समान महत्त्व दिनुपर्छ।
–विश्व निर्णयमा धेरै देशको सहभागिता होस् र व्यवस्था अझ राम्रो बनोस्।
–विश्वका विविध संस्कृति र सोचको सम्मान गर्नुपर्छ।
रुस र चीनले बहुध्रुवीय संसार र न्यायपूर्ण अन्तर्राष्ट्रिय सम्बन्धका लागि सँगै काम गरिरहने उल्लेख गरेका छन्।
शिखर सम्मेलनको क्रममा चीन र रुसले व्यापार र प्रविधिसँग सम्बन्धित २० भन्दा बढी सम्झौताहरूमा हस्ताक्षर गरेका छन्।
सी जिनपिङले चीन र रुसले अझ न्यायपूर्ण र तर्कसंगत विश्वव्यापी शासन प्रणाली प्रवर्द्धनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए। यस्तै पुटिनले आफूहरूको सम्बन्ध वास्तवमै अभूतपूर्व स्तरमा पुगेको बताए।
चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए। बुधबार उनले चीन भ्रमण सम्पन्न गरेका छन्।