काठमाडौं। मोरङको पथरीमा गत मे ७ मा आगलागी भएको बीवाईडी एट्टो ३ सम्बन्धमा नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्कले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। कम्पनीले प्रारम्भिक प्राविधिक अनुसन्धानका आधारमा आगलागीको कारण उच्च–भोल्टेज ब्याट्री वा पावरट्रेन प्रणाली नभएको दाबी गरेको हो।
साइमेक्सका अनुसार उक्त सवारी विवाह समारोहका लागि प्रयोग गरिएको थियो र सडक छेउको वन क्षेत्र नजिक पार्क गरिएको अवस्थामा पहिलो पटक धुवाँ देखिएको थियो। चालकले ड्यासबोर्ड क्षेत्रबाट धुवाँ निस्किएको देखेपछि लो–भोल्टेज विद्युत् जडान छुट्याउने प्रयास गरेका थिए। तर, त्यसपछि आगो तीव्र बनेको र अन्ततः गाडी पूर्ण रूपमा जलेको कम्पनीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति भने नभएको उल्लेख गरिएको छ।
कम्पनीले बीवाईडी मुख्यालयका इन्जिनियरहरूसँग संयुक्त रूपमा गरिएको प्राविधिक निरीक्षणमा ब्लेड ब्याट्री, मोटर, ट्रान्समिसन तथा अन्य विद्युतीय प्रणाली सुरक्षित अवस्थामा रहेको जनाएको छ। साइमेक्सका अनुसार ब्याट्री प्याकमा कुनै सर्ट–सर्किट, विद्युतीय खराबी वा ‘थर्मल रनअवे’ को संकेत फेला परेको छैन।
प्रेस विज्ञप्तिअनुसार प्रारम्भिक अनुसन्धानले आगो गाडीको पछाडिको बायाँ भागबाट सुरु भएको देखाएको छ। विवाहका लागि प्रयोग गरिएका ज्वलनशील सजावट सामग्री, सुकेका पात वा बाह्य ताप स्रोतले आगो सुरु भएको हुनसक्ने कम्पनीको भनाइ छ।
साइमेक्सले बीवाईडीको ब्लेड ब्याट्री विश्वस्तरमै सुरक्षित प्रविधिका रूपमा परिचित रहेको दाबी गर्दै विभिन्न कठोर सुरक्षा परीक्षणहरू सफलतापूर्वक पार गरेको उल्लेख गरेको छ। कम्पनीले ग्राहक सुरक्षा र पारदर्शितालाई प्राथमिकता दिँदै घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।