काठमाडौं। यसै सातादेखि नेपालमा आफ्नो परीक्षण सेवा दिएको उबरको उडान ७० देशको १५ हजार सहरमा फैलिएको छ।
विश्वकै सबैभन्दा ठूलो डिजिटल यातायात तथा डेलिभरी प्लेटफर्ममध्ये एक उबरले पछिल्ला वर्षमा आफ्नो व्यवसायिक विस्तार, प्रविधि र आम्दानीमा तीव्र वृद्धि हासिलसमेत गरेको छ। यातायात, खाना डेलिभरी, लजिस्टिक र डिजिटल विज्ञापनजस्ता क्षेत्रलाई एउटै एपमार्फत जोड्दै आएको उबर अहिले विश्वव्यापी बन्दै गएको हो ।
उबरको व्यवसायिक मोडेल बहुआयामिक छ। कम्पनीले मुख्य रुपमा यात्रु सेवा, खाना तथा किराना डेलिभरी, ढुवानी व्यवस्थापन र विज्ञापनबाट आम्दानी गर्छ। कम्पनीको सबैभन्दा ठूलो व्यवसाय ‘मोबिलिटी’ अर्थात् यात्रु सेवा हो। जहाँ यात्रु र चालकलाई डिजिटल माध्यमबाट जोडिन्छ। यसअन्तर्गत ट्याक्सी, निजी सवारी तथा केही देशमा सार्वजनिक यातायातसमेत समेटिएको छ।
उबरको दोस्रो ठूलो व्यवसाय ‘उबर इट्स’ हो। जसले रेस्टुरेन्टको खाना, किराना सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू ग्राहकको घरसम्म पुर्याउने सेवा दिन्छ। पछिल्ला वर्षहरूमा अनलाइन डेलिभरी बजार विस्तारसँगै यो क्षेत्र उबरको प्रमुख आम्दानी स्रोत बनेको छ।
त्यस्तै, ‘उबर फ्रेट’मार्फत कम्पनीले ठूला ट्रक, ढुवानी व्यवसायी र उद्योगहरूलाई डिजिटल प्लेटफर्ममा जोडेर लजिस्टिक सेवा उपलब्ध गराइरहेको छ। उबरले डिजिटल विज्ञापन र चालकविहीन सवारी प्रविधिमा पनि तीव्र लगानी बढाएको छ। कम्पनीले भविष्यमा स्वचालित सवारी नेटवर्क निर्माण गर्ने रणनीतिमा काम गरिरहेको बताइएको छ।
भौगोलिक रुपमा हेर्दा उत्तर अमेरिका उबरको सबैभन्दा ठूलो बजार बनेको छ। अमेरिका र क्यानडाबाट मात्रै कम्पनीले कुल आम्दानीको ५० देखि ५५ प्रतिशतसम्म हिस्सा प्राप्त गर्छ।
सन् २०२६ सम्म आइपुग्दा उबरका विश्वभर करिब १९ करोड ९० लाख सक्रिय मासिक प्रयोगकर्ता पुगेका छन्। दैनिक करिब ४ करोड यात्रु वा अर्डर प्लेटफर्ममार्फत सञ्चालन हुने गरेको तथ्यांकले देखाउँछ। कम्पनीसँग विश्वभर ९९ लाखभन्दा बढी चालक तथा डेलिभरी साझेदार आबद्ध छन्।
भौगोलिक रुपमा हेर्दा उत्तर अमेरिका उबरको सबैभन्दा ठूलो बजार बनेको छ। अमेरिका र क्यानडाबाट मात्रै कम्पनीले कुल आम्दानीको ५० देखि ५५ प्रतिशतसम्म हिस्सा प्राप्त गर्छ। युरोप, मध्यपूर्व तथा अफ्रिका क्षेत्रबाट करिब २८ प्रतिशत आम्दानी आउँछ भने एशिया प्रशान्त क्षेत्रले ११ देखि १४ प्रतिशत योगदान पुर्याउँछ। ल्याटिन अमेरिकी बजारबाट करिब ६ प्रतिशत आम्दानी प्राप्त हुने गरेको छ।

वित्तीय रुपमा पनि उबरले पछिल्ला वर्षमा उल्लेखनीय सुधार गरेको छ। लामो समय घाटामा सञ्चालन भएको कम्पनी अहिले नाफामुखी चरणमा प्रवेश गरेको छ। कम्पनीको पछिल्लो १२ महिनाको कुल आम्दानी ५३ अर्ब ६९ करोड अमेरिकी डलर पुगेको छ।
उबरको वार्षिक आम्दानी सन् २०२२ मा ३१ अर्ब ८८ करोड डलर रहेकोमा सन् २०२३ मा बढेर ३७ अर्ब २८ करोड डलर पुगेको थियो। सन् २०२४ मा कम्पनीले ४३ अर्ब ९८ करोड डलर आम्दानी गरेको थियो। सन् २०२५ मा यो बढेर ५२ अर्ब २ करोड डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १८.२८ प्रतिशतको वृद्धि हो।
कम्पनीले सन् २०२५ मा मात्रै ग्राहकबाट कुल १९३ अर्ब डलर बराबरको ‘ग्रस बुकिङ’ संकलन गरेको थियो। सन् २०२६ को पहिलो त्रैमासिकमा मात्रै उबरले १३ अर्ब २० करोड डलर आम्दानी गरेको छ। जसले कम्पनीको आक्रामक वृद्धि र विश्वव्यापी डिजिटल सेवामा यसको प्रभाव अझ बलियो बन्दै गएको संकेत गर्दछ।