ललितपुर। जेसिआई पाटनको आयोजनामा 'तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेट्ङिग चेस प्रतियोगिता' सम्पन्न भएको छ। पाटन हाइस्कुल परिसरमा आयोजित प्रतियोगितामा देशभरबाट आएका १४२ जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। विभिन्न उमेर समूह तथा विधामा भएको प्रतियोगिताले चेस खेलप्रेमीहरूबीच विशेष आकर्षण सिर्जना गरेको थियो।
कार्यक्रमको उद्घाटन समारोहका प्रमुख अतिथि ललितपुर महानगर ९ का अध्यक्ष तथा महानगरका प्रवक्ता राजु महर्जन रहेका थिए। कार्यक्रममा जेसिआई पाटनकी अध्यक्ष जेसी। आरती तण्डुकारले सहभागी सम्पूर्ण खेलाडी, अभिभावक तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्दै चेस खेलको प्रवर्द्धनमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। प्रतियोगिताका प्रमुख निर्णायकका रुपमा महेश्वर डंगोल थिए।
प्रतियोगिताको समापन समारोह ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। समापन समारोहमा विजयी खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
कुल १४२ सहभागी खेलाडीहरूलाई पछि पार्दै सल्याम शर्मा प्रथम हुँदै १० हजार नगद पुरस्कारसहित च्याम्पियन बने भने एफएम क्षितिज भण्डारी दोस्रो, सुमन लामा तेस्रो, राजेन्द्र प्रसाद श्रेष्ठ चौथो तथा सीएम नबिन तन्डुकार पाँचौं स्थान हासिल गर्न सफल भए। त्यसैगरी फुर्बा लामा, बद्रिलाल नेपाली, मिसन दाहाल, एआईएम अभिक शाह तथा सन्देश श्रेष्ठ क्रमशः छैटौंदेखि दशौं स्थानसम्म रहे।
विधागत पुरस्कारतर्फ उत्कृष्ट अनरेटेडतर्फ प्रशान्त गुरुङ प्रथम तथा सन्देश लिम्बु द्वितीय भए। उत्कृष्ट महिलातर्फ ग्लोसी श्रेष्ठ प्रथम र सनम श्रेष्ठ द्वितीय भए भने उत्कृष्ट पाभिलियन्सतर्फ सुलभ पन्थी प्रथम तथा श्याम बाबु शाह द्वितीय भए।
यू-१६ समूहमा हर्षवर्धन राठी प्रथम तथा शुभम जोशी द्वितीय भए। यू-१४ समूहमा सात्विक मान तुलाधर प्रथम तथा ओस्कार पन्थी द्वितीय भए। यू-१२ समूहमा श्रेष्ठ साहस प्रथम तथा मैनाली दिपन द्वितीय भए भने यू-१० समूहमा रियान्शु पौडेल प्रथम तथा आयम सुवेदी द्वितीय भए।
एलो १७०० मुनि समूहमा कबिन्द्र सिवाकोटी प्रथम तथा लेखराज भट्टराई द्वितीय भए। भेट्रान समूहमा पूर्णराज खड्का प्रथम तथा पुण्य मान कर्माचार्य द्वितीय हुन सफल भए।
प्रतियोगितामा कुल ५६ हजार रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ। जेसिआई पाटनले चेस खेलको विकास, युवा प्रतिभा प्रोत्साहन तथा बौद्धिक खेल संस्कृतिको विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ। कार्यक्रममा चेस खेलाडी, अभिभावक, खेलप्रेमी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।