काठमाडौं। खासगरी उड्डयन क्षेत्रमा चासो र चिन्ता राख्नेहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल (गणेश)ले नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को महानिर्देशकमा कस्ता व्यक्तिलाई नियुक्ति गर्लान् भनेर निर्णय पर्खिरहेका थिए। पर्यटन मन्त्रीको रूपमा शपथ लिएसँगै आफू मातहतका सबै निकायमा राजनीतिक नियुक्ति नहुने र खुल्ला प्रतिस्पर्धा मार्फत नियुक्ति गर्ने उद्घोष गरेदेखि नै उनको निर्णयमा ध्यान दिएकाहरू क्यानको महानिर्देशक नियुक्तिपछि चकित परेका छन्।
उसैपनि महानिर्देशक नियुक्तिको बेला विवादको भुमरीमा पर्ने पर्यटन मन्त्रालयले यस पटक भने विवादरहित नियुक्ति गरेको प्राधिकरणका एक पूर्व महानिर्देशकको भनाइ छ। खुल्ला प्रतिस्पर्धा गरेपछि प्राधिकरण भित्रबाट पनि धेरै कर्मचारीहरूले आवेदन दिएका थिए। ती मध्येबाट एक जनालाई नियुक्ति गर्दा विवाद उत्पन्न हुने निश्चित थियो। तर, पर्यटन मन्त्री पौडेलले यस्तो चलाखीपूर्ण निर्णय गरे, जसले विवाद नै हुन पाएनन्। पर्यटन मन्त्रालयका सहसचिव एवं नागरिक उड्डयन महाशाखाका प्रमुख समेत रहेका मुकेश डंगोललाई नियुक्ति गरेको हो।
महानिर्देशक बन्नका लागि २१ जनाले आवेदन दिएका मध्येबाट १ जनाको नाम मात्र मन्त्रिपरिषदमा सिफारिस गरेर पठाएको थियो। अन्य बेलामा सामान्यतया ३ जनाको नाम पठाउने र त्यस मध्येबाट १ जनालाई छनौट गर्ने गरिएको थियो। तर, यो पटक भने पर्यटन मन्त्रीले पहिलाको परम्परालाई तोड्दै डंगोलको मात्र एकल नाम सिफारिस गरेका थिए। सोही सिफारिस अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
प्राधिकरणबाट नियुक्ति गर्दा हुन्थ्यो विवाद
जति बेला १२ औँ तहका तीन जनालाई पन्छाएर ११ औँ तहका प्रदीप अधिकारीलाई महानिर्देशकको रूपमा पूर्वपर्यटन मन्त्री प्रेम आलेले नियुक्ति गरे त्यही बेलादेखि प्राधिकरण भित्र विवाद उत्पन्न भएको थियो। अहिले प्रदीप अधिकारी भ्रष्टाचारको मुद्दामा पुर्पक्षका लागि जेलमा छन्। नियुक्तकै बेला विवादमा परेका अधिकारीले आफ्नो कार्यकाल पुरा गर्न मात्र पाएनन् सर्वसाधारणदेखि अन्तर्राष्ट्रिय जगतमा समेत प्राधिकरणको बेइज्जत गरे। त्यही घटना नदोहोरियोस् भन्ने विषयमा पर्यटन मन्त्री पौडेल निकै चनाखो भएकै कारण क्षमतावान् व्यक्तिहरू हुँदा हुँदैपनि प्राधिकरणबाट बाहिरबाट तर उड्डयन क्षेत्रका बुझेकै व्यक्तिको रूपमा डंगोललाई नियुक्ति गर्ने निर्णयसहित मन्त्रिपरिषदमा नाम पठाएको मन्त्रालयका एक सहसचिवले जानकारी दिए।
प्राधिकरण भित्रबाट एक जनालाई नियुक्ति गर्दा बाँकीले विरोध हुनुको साथै भाँडभैलो हुने र बाहिरबाट ल्याउँदा झनै विवादमा पर्ने भएपछि मन्त्रालयका सहसचिव डंगोललाई उपयुक्त पात्रको रूपमा पठाएको ती सहसचिवको भनाइ छ।
‘तत्कालीन महानिर्देशक अधिकारीलाई भ्रष्टाचारको मुद्दा लागेपछि निलम्बनमा परेको बेला केही दिन निमित्त महानिर्देशकको जिम्मेवारी समेत लिइसकेको र मन्त्रालयकै सहसचिवलाई पठाएपछि प्राधिकरणका कर्मचारीहरूले समेत मान्ने भएकोले निर्विकल्पमा उनलाई पठाएको हो’, ती सहसचिवले भने।
चुनौतीको चाङमा छ डंगोलको नियुक्ति
उसैपनि अहिले प्राधिकरणमा पूर्वमहानिर्देशक अधिकारीसहित पूर्वमहानिर्देशकहरु र बहालवाला कर्मचारीलाई समेत भ्रष्टाचारको मुद्दा लागेपछि बाँकी रहेका कर्मचारीहरू त्रसित बनेका छन्। कर्मचारीहरू त्रासमा परिरहेको बेला महानिर्देशकको रूपमा आएका डंगोललाई कर्मचारीको मनोबल बढाउने, पोखरा र भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्ने, लामो समयदेखि नेपाली आकाशलाई युरोपियन युनियन(ईयू)ले राख्दै आएको कालोसूचीबाट हटाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने जहाज डिले घटाउनेदेखि एयरलाइन्सहरूको समस्या समाधान गर्नेसम्मका चुनौतीहरू उनलाई रहेको छ।
यस्तै पटक–पटक हुने हवाई दुर्घटनालाई न्यूनीकरण गर्ने विषयमा नियमन गर्ने र आवश्यक पूर्वाधार विकासमा लगानी गर्नुपर्ने चुनौती समेत उनलाई रहेको छ। योसँगै प्राधिकरणमा रहेका माथिल्लोदेखि तल्लो तहका कर्मचारीहरूलाई समेत मिलाएर लैजानुपर्ने उनको प्रमुख चुनौती छ।