काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ मा औद्योगिक क्षेत्रतर्फ स्वदेशी तथा विदेशी लगानी उद्योगका लागि ४९ खर्ब ५२ अर्ब ६ करोड बराबरको कुल लगानीको स्वीकृत भएको छ। कुल स्वीकृत लगानीमध्ये उद्योग विभागबाट ३३ खर्ब ३७ अर्ब ८० करोड (६७.४ प्रतिशत) र लगानी बोर्ड नेपालबाट १६ खर्ब १४ अर्ब २६ करोड (३२.६ प्रतिशत) लगानी स्वीकृत भएको हो।
प्रतिनिधि सभा बैठकमा बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आवको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै औद्योगिक क्षेत्रतर्फ चालू आवमा लगानी स्वीकृत भएको जनाएका हुन्। चालू आवको फागुन मसान्तसम्ममा ३ खर्ब ८९ अर्ब ७४ करोड थप लगानी स्वीकृत भई २०८२ फागुन मासान्तसम्म यस्तो लगानी ३७ खर्ब २७ अर्ब ५४ करोड पुगेको छ।
जसमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८२.२ प्रतिशत, ९.४ प्रतिशत र ८.४ प्रतिशत रहेको छ। दर्ता भएका उद्योगको सञ्चालनबाट ७ लाख ८५ हजार ५ सय २० प्रत्यक्ष रोजगार सिर्जना हुने अनुमान छ।
चालू आवको फागुन मसान्तसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भएका छन्। यो उद्योग सञ्चालनबाट ३९ हजार ५ सय ४६ रोजगार सिर्जना हुने अनुमान छ। गत आवको सोही अवधिमा ४३८ उद्योगका्े १ खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भई २३ हजार ६४ प्रत्यक्ष रोजगार सिर्जन हुने अनुमान रहेको थियो।
विदेशी लगानी
हाल स्वचालित र अप्रुभल गरी दुई रुटबाट विदेशी लगानी स्वीकृत हुने गरेको छ। चालू आवको फागुन मसान्तसम्म उद्योग विभागमा ९६८ अटोमेटिक र ६ हजार ९८३ अप्रुभल रुटबाट गरी कुल ७ हजार ९५१ प्रियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको सिवदेशी लगानी स्वीकृत भएको छ। यो उद्योगको सञ्चालनबाट ३ लाख ६२ हजार ५४५ रोजगार सिर्जना हुने अनुमान छ।
चालू आवको फागुन मसान्तसम्म उद्योग विभागमा अटोमेटिक रुटबाट ३७७ र अप्रुभल रुटबाट १७७ गरी कूल ५५४ परियोजनामा ४० अर्ब ७० करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। गत आवमा सोही अवद्यिमा ४२७ उद्योगको ४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको थियो।
बौद्धिक सम्पति
उद्योग विभागमा औद्योगिक बौद्धिक सम्पतिमा चालू आवका फागुन मसान्तसम्म ७० हजार ९७० ट्रेडमार्क, ९० पेटेन्ट र ३२० डिजाइन दर्ता भएका छन्। दर्ता भएका कुल ट्रेडमार्कको संख्यामध्ये स्वदेशी र विदेशी ट्रेडमार्कको संख्या क्रमशः ५५.७ प्रतिशत र ४४.३ प्रतिशत रहेको छ। आर्थिक वर्ष ०७४/७५ प्रश्चात विदेशी पेटेन्ट दर्ता भएका छैनन्।
कम्पनी दर्ता
चालू आवको फागुन मासन्तसम्म ३ लाख ६९ हजार ६४६ कम्पनी दर्ता भएका छन्। दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत रहेका छन्। चालू आवको फागुन मसान्तसम्म १५ हजार ३६३ थप कम्पनी दर्ता भएका छन्।
जसमध्ये सबैभन्दा बढी प्राइभेट लिमिटेड कम्पनी ९७.४० प्रतिशत रहेका छन्। विगत १० वर्षको अवद्यिमा आर्थिक वर्ष २०७८÷०७९ मा सबैभन्दा बढी २९ हजार १७ कम्पनी दर्ता भएका छन्। यस अवधिमा आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा कम १४ हजार १ सय ३० कम्पनी दर्ता भएका छन्।