काठमाडौं। नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दै गएको छ। २०८२ फागुनसम्म उद्योग विभागमार्फत कुल ७ हजार ९ सय ५१ परियोजनामा ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको हो। यी उद्योगहरूको सञ्चालनबाट करिब ३ लाख ६२ हजार ५ सय ४५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ।
सरकारले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा वैदेशिक लगानीमा छिमेकी मुलुक चीनको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। सर्वेक्षण अनुसार कुल स्वीकृत वैदेशिक लगानीको ४८.० प्रतिशत हिस्सा चीनको रहेको छ। चीनले मात्रै नेपालमा ३ खर्ब ३९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गराएको छ। परियोजना संख्याका आधारमा पनि चीन सबैभन्दा अगाडि छ। कुल परियोजनामध्ये ४५.५ प्रतिशत अर्थात् ३ हजार ६ सय १७ वटा परियोजना चीनका रहेका छन्।
दोस्रो स्थानमा चीनपछि नेपालमा लगानी गर्ने दोस्रो ठूलो मुलुक भारत हो। भारतबाट नेपालमा कुल स्वीकृत वैदेशिक लगानीको १७.९ प्रतिशत हिस्सा आएको छ। भारतीय लगानीकर्ताहरूले ९ सय ४५ परियोजनामार्फत कुल १ खर्ब १२ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गराएका छन्। परियोजना संख्याको आधारमा भारतको हिस्सा ११.९ प्रतिशत रहेको छ।
चीन र भारतबाहेक नेपालमा लगानी गर्ने अन्य प्रमुख १० मुलुकमा हङ्गकङ्गले ५.० प्रतिशत (३१ अर्ब ४२ करोड), दक्षिण कोरियले ४.२ प्रतिशत (२६ अर्ब ४५ करोड), अमेरिकाले ३.६ प्रतिशत (२२ अर्ब २९ करोड), संयुक्त अधिराज्यले २.५ प्रतिशत (१५ अर्ब ७८ करोड), ब्रिटिश भर्जिन टापुले १.८ प्रतिशत (११ अर्ब ६ करोड), सिङ्गापुरले १.५ प्रतिशत (९ अर्ब ६१ करोड), स्पेनले १.२ प्रतिशत (७ अर्ब ७२ करोड) र क्यानाडाले ०.७ प्रतिशत (रु. ४ अर्ब ५१ करोड) बराबरको वैदेशिक लगानी आएको हो। यी बाहेक अन्य विभिन्न मुलुकहरूबाट १३.५ प्रतिशत (८४ अर्ब १५ करोड) लगानी आएको छ।

क्षेत्रगत लगानीको आकर्षण र रोजगारी
स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी आकर्षण सेवा र पर्यटन क्षेत्रमा देखिएको छ। कुल लगानीमध्ये सेवा क्षेत्रमा २८.३ प्रतिशत र पर्यटन क्षेत्रमा २४.९ प्रतिशत लगानी रहेको छ। ऊर्जा क्षेत्रमा २३.० प्रतिशत र उत्पादनमूलक क्षेत्रमा १३.२ प्रतिशत लगानी स्वीकृत भएको छ। खानी उद्योगमा भने सबैभन्दा कम १.३ प्रतिशत मात्र वैदेशिक लगानी छ। यी स्वीकृत ७ हजार ९ सय ५१ परियोजनाहरू पूर्ण रूपमा सञ्चालनमा आउँदा नेपालमा करिब ३ लाख ६२ हजार ५ सय ४५ जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान सर्वेक्षणले गरेको छ।
चालु आर्थिक वर्षको अवस्था र लाभांश फिर्ता
चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म मात्रै ५ सय ५४ वटा नयाँ परियोजनाका लागि ४० अर्ब ७० करोड रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ। यद्यपि, प्रत्यक्ष वैदेशिक लगानी (एडीआई) आप्रवाहमा भने २७.९ प्रतिशतले सुधार भई १० अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। लगानी बढेसँगै लगानीकर्ताहरूले प्रतिफल फिर्ता लैजाने क्रम पनि बढेको छ। चालु आर्थिक वर्षको फागुनसम्म विदेशी लगानीकर्ताहरूले लाभांश र लगानी बापत ५ अर्ब ७२ करोड रुपैयाँ फिर्ता लगेका छन्, जुन अघिल्लो वर्ष रु. २ अर्ब ९८ करोड मात्र थियो।
नेपालमा चीन र भारतका लगानीकर्ताहरूको वर्चस्व रहेको र सेवा तथा पर्यटन क्षेत्र वैदेशिक लगानीका लागि प्रमुख गन्तव्य बनेको आर्थिक सर्वेक्षणले पुष्टि गरेको छ।