काठमाडौं। अर्थ मन्त्रालयले नेपालमा अहिलेसम्म फोरजी सेवाको पहुँच झण्डै ९० प्रतिशत जनतासम्म पुगेको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सार्वजनिक गरेका आव २०८२/८३ को आर्थिक सर्वेक्षणमा फागुनसम्म नेपालमा फोरजी सेवाको पहुँच ८९ दशमलव ६ प्रतिशत जनसंख्यामा पुगेको उल्लेख छ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म इन्टरनेट ग्राहकको घनत्व १४५ दशमलव ७ प्रतिशत पुगेको छ। गत वर्षको असरम मसान्तसम्म इन्टरनेट ग्राहकको घनत्व १३९ दशमलव ५ प्रतिशत पुगेको सरकारी तथ्यांक छ।
पछिल्लो तथ्यांकअनुसार चालू आवको ८ महिनासम्म नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको इन्टरनेट सेवा प्रयोगकर्ता एक करोड ६८ लाख ९२ हजार, एनसेल प्रालि को एक करोड २१ लाख ३४ हजार, इन्टेरनेट सेवा प्रदायकहरु एक करोड ३४ लाख ६३ हजार गरी कूल ४ करोड २४ लाख ८९ हजार प्रयोगकर्ता रहेको मन्त्रालयले जनाएको छ।
फागुनसम्म ३ करोड ९६ हजार ७७६ टेलिफोन प्रयोगमा रहेका छन्। गत असार मसान्तसम्म सो संख्या २ करोड ९७ लाख २७ हजार ९१६ रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको ८ महिनासम्म इन्टरनेट ग्राहकको घनत्व १४५ दशमलव ७ प्रतिशत पुगेको छ। डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत घरधुरीमा पुगेको छ। मोबाइल ब्रोडब्याण्ड घनत्व जनसंख्याको १०३ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयअन्तगर्त सञ्चार क्षेत्र प्रतिचालू आवको फागुनसम्म दैनिक ७७४, अर्ध साप्ताहिक ३८, साप्ताहिक ३ हजार र अन्य ४ हजार २४५ गरी कुल ८ हजार ५८ पत्रपत्रिका दर्ता भएको सरकारी तथ्यांक छ। सरकारी स्वामित्वमा रहेको गोरखापत्र दैनिकअन्तगर्त नयाँ नेपाल बहुभाषामा गरी कुल ४८ भाषामा समाचार छाप्दै आइरहेको छ।
यता सार्वजनिक सेवा प्रसारणअन्तगर्त रेडियो नेपालको पहुच ९४ प्रतिशत जनसंख्यामा पुगेको छ। रेडियो नेपालबाट विभिन्न २५ भाषामा समाचार र २६ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा नियमित प्रसारणमा रहेका एफएमको संख्या ७७३ र टेलिभिजनको संख्या ११३ पुगेको छ। यता अनलाइन सञ्चार संस्था १८७ वटा दर्ता भएका छन्। यसैगरी, १ हजार ५०१ अनलाइन सञ्चार संस्था नवीकरण भएका छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ४ हजार ९७८ वटा अनलाइन सञ्चार माध्यम सूचीकृत भएको सरकारी तथ्यांक रहेको छ।
