काठमाडौं। सिजी होल्डिंग्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्ट अब सिजी होटल्स एन्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएका छन्। ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यांश चौधरीले सिजी होल्डिङ्सअन्तर्गतका सबै होटल र रिसोर्ट अब सिजी होटल्स एन्ड रिसोर्टको छाताभित्र रहेर सञ्चालन हुने जानकारी दिए।
चौधरीका अनुसार सिजी होटल्स एन्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँचतारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्यान्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ। साथै, आगामी दिनमा सञ्चालन हुने होटल तथा रिसोर्ट पनि यहीँ छाताभित्र रहने उनले बताए।
कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै सञ्चालनमा आउनेछ। होटल व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्नेछ। सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डिङमार्फत नेपाल आउन लागेको हो।
उक्त होटलमा १७५ कोठा हुनेछन् भने रुफटपसहित विभिन्न रेस्टुरेन्टको पनि सुविधा उपलब्ध हुनेछ। होटलमा ६ वटा हल हुनेछन् भने सबभन्दा ठूलो हल पाँच हजार वर्गफिटको हुनेछ। विसं २०७६ वैशाखमा शिलायन्यास गरिएको यो होटल यस वर्षदेखि सञ्चालनमा आउन लागेको हो।
होटलको चौथो तलादेखि रुम सुरु हुनेछन् भने होटलबाट काठमाडौं उपत्यकाको फराकिलो दृश्यावलोकन गर्न सकिनेछ। क्राउन प्लाजा होटल आधुनिक विलासितको झल्को दिने गरी निर्माण गरिएको छ। होटलको सबैभन्दा आकर्षण रुफटप प्लाजा हो। होटलको १२औँ तलामा रहने रुफटपबाट काठमाडौँ उपत्यकाको ३६० डिग्री भ्यु हेर्न सकिनेछ।
सिजी होटल्स एन्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो, नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भई गत वैशाखदेखि सञ्चालनमा आएको लक्जरी रिसोर्ट भंगेरी दरबारको झल्को दिने गरी निर्माण गरिएको छ। चन्द्रशमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो। होटलमा ५१ वटा कोठा छन्।
पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अत्याधुनिक सुविधा उपलब्ध गराइएको छ । रिसोर्टबाट सगरमाथालगायतका हिमाल र सूर्योदय अवलोकन गर्न सकिन्छ। साथै काभ्रेपलाञ्चोक र सिन्धुपालचोकका पहाडी बस्ती अवलोकन गर्न पाउनुका साथै धुलिखेल, चिसापानी, चांगुनारायणलगायतका स्थानमा पदयात्रामार्फत पुग्न सकिन्छ।
कम्पनीले सिजी होटल्स एन्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्यान्ड सफारीलाई पनि समेटेको छ। अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा सञ्चालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ। ६ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट जंगल थिममा ३२ वटा प्राइभेट भिल्ला निर्माण गरिएको छ।
रिसोर्टमा वाइल्ड लाइफ गतिविधि पनि सञ्चालनमा छन्। कम्पनीका अनुसार जिप सफारी क्यानोइङ, जंगल वाक, भिलेज वाक, थारु सांस्कृतिक नृत्यलगायतका गतिविधि सञ्चालनमा छन्। कर्पोरेट इभेन्ट र डेस्टिनेसन वेडिङका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको छ। रिसोर्टका भिल्लाबाटै जंगली जनावरका गतिविधि पनि अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार ललितपुरको पुलचोकमा सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु द प्लाजा पनि सिजी होटल्स एन्ड रिसोर्टको छाताभित्र सञ्चालनमा ल्याइएको छ। द प्लाजामा कुल १२ हजार वर्गफिटको ठूलो हलमा थियटर सेटअपमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ।
यहाँ तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ। द प्लाजामा मागअनुसार आधुनिक र उच्च प्रविधिको साउन्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअललगायत सुविधा हुनेछ।
यसैगरी काठमाडौंको बूढानीलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट सञ्चालनमा छ। काठमाडौँ उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिन्छ।