काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुरुप्रसाद पौडेलले अहलेको असाधारण परिस्थितिलाई सम्बोधन गर्न महत्त्वाकांक्षी बजेट ल्याउन सरकारलाई दबाब र आवश्कयता रहेको उल्लेख गरेका छन्।
आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताएका हुन्।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले ७ प्रतिशतको आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र ६ प्रतिशतभित्र मुद्रास्फीति राख्ने गरी राष्ट्र बैंकले नीति तर्जुमा गर्ने उनले जानकारी दिए।
उनले उनले बजेटमा सुशासन, डिजिटाइजेसन र विद्युतीकरणलाई प्राथमिकता दिएर प्रशासन क्षेत्रलाई अगाडि बढाउन खोजिएकाले आर्थिक वृद्धिको सिनर्जी आउन सक्ने उनले बताए। उनले भने, ‘सुशासन केन्द्रित योजना भएकाले आर्थिक सिनर्जी आउने देखिन्छ।’
केही कुरालाई राष्ट्र बैंकले विगतदेखि चालेका कदमलाई अझ बढी प्रभावकारी तरिकाले अगाडि बढाउनलाई बजोटले राष्ट्र बैंकलाई निर्देश गरेको उनको भनाइ छ। ‘साना कर्जालाई आर्थिक कारोबारको आधारमा ट्रयाक रेकर्डका आधारमा क्रेडिट स्कोरको आधारमा मापन गर्ने कुरा बजेटमा आएको छ’, उनले भने, ‘यसमा राष्ट्र बैंक अगाडि बढ्दै छ।’
फिनटेक मार्केटप्लेसको अवधारणालाई पनि बजेटले सम्बोधन गरेको उनले बताए। यसमा राष्ट्र बैंकले पनि काम गरिरहेको उनले जानकारी दिए। पौडेलले उपभोगमा वृद्धि ल्याउन हायर पर्चेजमा विभिन्न उपभोग्य सामान खरिदमा ऋण लिन मिल्ने व्यवस्था बजेटले गर्न खोजेको उल्लेख गरे।
‘सहुलियतपूर्ण कर्जा मुलुकको मध्य निम्न मध्यम वर्गको उत्थानका लागि बजेटले अझ बढी परिस्कृत ढंगले ल्याउन खोजेको देखिएको छ,’ उनले भने। ‘यो निकै लामो समयदेखि पेन्डिङ भएको विषयलाई बजेटले सम्बोधन गरेको छ। यसबाट पछिल्लो समय वित्तीय प्रणालीमा निष्क्रिय कर्जा बढ्दै गएको र गैरबैंकिङ सम्पत्ति पनि बढ्दै गएको सन्दर्भमा यसले केही सहजीकरण गर्नेछ,’ उनले भने।
विदेशी मुद्राको ठूलो स्रोत भनेको रेमिट्यान्स भएकाले यसलाई सावधानीपूर्वक अगाडि बढाउनुपर्ने उनले सुझाए।